काठमाडौं, साउन १८ — गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती गगन नगरमा शनिबार राति भएको भीषण आगलागीबाट प्रभावित तथा विस्थापित परिवारलाई गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक राहत सामग्री वितरण गरेको छ। आइतबार नगरपालिकाको नेतृत्व तथा वडा नं. ५ को समन्वयमा आगलागीबाट प्रभावित ९ परिवारलाई राहत हस्तान्तरण गरिएको हो।
राहत वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष धर्म थिङ लामा, वडा सदस्यहरू लक्ष्मी पुडासैनी र कमला नेपालीलगायत स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। नगरपालिकाले पीडित परिवारको तत्कालीन आवश्यकता मध्यनजर गर्दै चामल, प्रेसर कुकर, कराईसहित भाँडाकुँडाको सेट, डसना, पानीको जार, अण्डालगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।
शनिबार राति प्रवेशद्वार नजिक रहेको काठ गोदामसहित सटर तथा टहरामा सञ्चालित पसलहरूमा आगलागी हुँदा ठूलो धनमालको क्षति भएको थियो। आगोले व्यावसायिक तथा घरायसी प्रयोजनका लागि राखिएका अधिकांश सामान पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन्। प्रारम्भिक मूल्याङ्कनअनुसार आगलागीबाट प्रभावित परिवारहरूको बसोबास र जीविकोपार्जन दुवैमा गम्भीर असर परेको छ।
पीडितहरूका अनुसार आगलागी सुरु भएलगत्तै स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको थियो। तर आगो तीव्र रूपमा फैलिएकाले घरभित्र रहेका अत्यावश्यक सामग्री, लत्ताकपडा, खाद्यान्न, कागजात तथा व्यवसाय सञ्चालनका लागि आवश्यक सामानसमेत जोगाउन सम्भव भएन। कतिपय परिवारले वर्षौँदेखि संकलन गरेका सम्पत्ति र जीविकोपार्जनको आधार नै गुमाउनुपरेको उनीहरूको भनाइ छ।
राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख दीपक रिसालले विपद्को घडीमा स्थानीय सरकार नागरिकसँगै रहेको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराइएको बताए। उनले प्रभावित परिवारहरूको अवस्था थप अध्ययन तथा मूल्याङ्कन गरी आवश्यकताअनुसार थप राहत, अस्थायी व्यवस्थापन तथा पुनःस्थापनाका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष धर्म थिङ लामाले पनि पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु पहिलो प्राथमिकता रहेको र आगामी दिनमा अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी थप सहयोग जुटाइने जानकारी दिए। उनका अनुसार प्रभावित परिवारको वास्तविक अवस्था, क्षतिको परिमाण तथा पुनःस्थापनाका आवश्यकताबारे विस्तृत विवरण संकलन गर्ने काम सुरु गरिएको छ।
स्थानीयवासीले विपद्को कठिन समयमा नगरपालिकाबाट तत्काल राहत उपलब्ध गराइएकोप्रति आभार व्यक्त गरेका छन्। यद्यपि, आगलागीबाट घर र व्यवसाय दुवै गुमाएका परिवारहरूको दीर्घकालीन पुनःस्थापनाका लागि थप आर्थिक, आवासीय तथा जीविकोपार्जनसम्बन्धी सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ।
गोकर्णेश्वर नगरपालिकाले आगलागीबाट प्रभावित क्षेत्रको थप मूल्याङ्कन गरी आवश्यक समन्वय र व्यवस्थापनमार्फत पुनःस्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ। स्थानीय तह, सुरक्षा निकाय तथा समुदायको समन्वित प्रयासबाट प्रभावित परिवारलाई पुनः सामान्य जीवनमा फर्काउन आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने नगरपालिकाको भनाइ छ।