काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर्राष्ट्रिय युवा दिवस २०८३ देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ। युवाको नेतृत्व, सहभागिता र नीति निर्माणमा सक्रिय भूमिका बढाउने उद्देश्यका साथ पार्टीले स्थानीय तहदेखि केन्द्रसम्म विविध कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ।
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार सन् १९९९ देखि हरेक वर्ष अगस्ट १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ। सोही अवसरलाई लक्षित गर्दै रास्वपाको श्रावण १३ गते बसेको केन्द्रीय समिति बैठकले युवा दिवसलाई विशेष रूपमा मनाउने निर्णय गरेको हो।
बैठकले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ।
विस्तृत आयोजक समिति गठन
पार्टीले युवा दिवसको तयारीका लागि केन्द्रीय सदस्य, सांसद तथा विभिन्न तहका नेताहरू सम्मिलित विस्तृत आयोजक समिति गठन गरेको छ।
समितिमा हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मञ्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दन कुमार ठाकुर, भरत केसी लगायतका नेता सदस्य रहेका छन्। साथै, सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गरिएको पार्टीले जनाएको छ।
देशभर विविध कार्यक्रम आयोजना गरिने
रास्वपाले पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारी गरेको छ। श्रावण १५ गते बसेको आयोजक समितिको पहिलो बैठकले प्रदेश सभापतिहरूलाई आवश्यक पत्राचार गर्ने, प्रदेशस्तरीय समन्वयका लागि जिम्मेवारी तोक्ने तथा उपसमिति गठन गर्ने निर्णय गरेको छ।
युवामुखी कार्यक्रमहरू हुने
युवा दिवसका अवसरमा युवाको सहभागिता र नेतृत्व विकासलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम आयोजना गर्ने विषयमा छलफल भएको छ। प्रस्तावित कार्यक्रमहरूमा:
‘संसदसम्म युवाको आवाज’ अन्तरसंवाद कार्यक्रम
Inspiring Message Competition (प्रेरणादायी सन्देश प्रतियोगिता)
राष्ट्रव्यापी सरसफाइ अभियान
रक्तदान कार्यक्रम
खेलकुद प्रतियोगिता
युवा अन्तरसंवाद
समसामयिक विषयमा छलफल
नीति मन्थन तथा विचार गोष्ठी लगायतका कार्यक्रम समावेश छन्।
गृहकार्यपछि विस्तृत कार्ययोजना सार्वजनिक गरिने
बैठकले जिम्मेवारी पाएका सदस्यहरूलाई आफ्नो-आफ्नो क्षेत्रको तयारी, कार्यक्रमको खाका तथा समन्वय सम्बन्धी गृहकार्य पूरा गरी आगामी बैठकमा विस्तृत प्रस्ताव पेश गर्ने जिम्मेवारी दिएको छ।
रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई युवाको आवाजलाई नीति निर्माण र लोकतान्त्रिक प्रक्रियासँग जोड्ने अभियानका रूपमा मनाउने तयारी गरेको जनाएको छ। पार्टीका अनुसार आगामी दिनमा सार्वजनिक हुने विस्तृत कार्यतालिकाअनुसार देशभर एकैसाथ विभिन्न युवामुखी कार्यक्रम सञ्चालन गरिनेछन्।