काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीसहित देशका विभिन्न क्षेत्रमा हालै देखिएको आपसी द्वन्द्व, तनाव र विवादप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बुधबार जारी गरिएको सद्भाव सन्देशमा पूर्वराजा शाहले सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको द्वन्द्वका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी प्रदेशका विभिन्न जिल्ला र तराईका अन्य क्षेत्रमा समेत फैलिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यही विविधता नै नेपालको शक्ति, गौरव र राष्ट्रिय पहिचान भएको बताएका छन्। विविध समुदायबीचको आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वले नेपाली समाजलाई सुदृढ बनाएको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको खलल पुग्न नहुने उनको भनाइ छ।
पूर्वराजा शाहले नेपाली समाज परम्परादेखि नै मेलमिलाप, सहकार्य र भाइचाराको भावनामा आधारित रहेको उल्लेख गर्दै पछिल्ला दिनमा देखिएका तनावपूर्ण र हिंसात्मक घटनाले देशको मौलिक मूल्य, सामाजिक संस्कार र राष्ट्रिय एकतालाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।
उनले कुनै पनि किसिमको उक्साहट, द्वेष वा विभाजनकारी गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गर्दै विवादको समाधान संवाद, संयम र आपसी समझदारीमार्फत खोजिनुपर्ने धारणा राखेका छन्। सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको उनको सन्देशमा उल्लेख छ।
सन्देशमा भनिएको छ, “यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो। त्यसैले जुनसुकै भू–भागमा रहे–बसेका जो कोही पनि हामी नेपाली मिलौँ। हाम्रो यही आग्रह छ। यही आजको आवश्यकता हो।”
पूर्वराजा शाहले सम्पूर्ण नेपालीलाई जात, धर्म, भाषा, संस्कृति वा क्षेत्रका आधारमा विभाजित नभई राष्ट्रिय हित, सामाजिक सद्भाव र शान्तिको पक्षमा एकजुट हुन आह्वान गरेका छन्। पछिल्ला घटनाबाट उत्पन्न तनावलाई शान्तिपूर्ण ढंगले अन्त्य गर्दै देशमा स्थायी शान्ति, सहिष्णुता र भाइचारा कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको जोड रहेको छ।
