काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ स्थित तामाकोशी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन तथा लोड गरिरहेको अवस्थामा प्रहरीले तीन वटा सवारी साधन नियन्त्रणमा लिएर स्थानीय तहमार्फत जरिवाना गराएको छ। अवैध नदी दोहन नियन्त्रणका लागि गरिएको निगरानीका क्रममा सोमबार बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको गस्ती टोलीले विशेष गोप्य सूचनाका आधारमा उक्त कारबाही गरेको हो।
प्रहरीका अनुसार तामाकोशी नदी किनारमा अनुमति बिना नदीजन्य पदार्थ उत्खनन गरी सवारी साधनमा लोड भइरहेको सूचना प्राप्त भएपछि तत्काल गस्ती टोली परिचालन गरिएको थियो। टोली घटनास्थलमा पुग्दा तीन वटा सवारी साधनमा बालुवा लोड भइरहेको फेला परेपछि चालकसहित नियन्त्रणमा लिइएको थियो।
नदीजन्य पदार्थको उत्खनन, संकलन तथा व्यवस्थापनसम्बन्धी कानुनी अधिकार स्थानीय तहअन्तर्गत पर्ने भएकाले प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन र चालकहरूलाई आवश्यक कारबाहीका लागि मन्थली नगरपालिकाको कार्यालयमा बुझाएको जनाएको छ। त्यसपछि नगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी प्रचलित मापदण्डअनुसार आवश्यक अनुसन्धान गरी तीनवटै सवारी साधनमाथि आर्थिक जरिवाना गरेको हो।
मन्थली नगरपालिकाले गरेको कारबाहीअनुसार खाँडादेवी गाउँपालिका–४ पकरवास निवासी ३१ वर्षीय रामचन्द्र कार्कीले चलाएको बा ५ ख ७५७१ नम्बरको मिनीट्रकलाई रु २२ हजार ५ सय जरिवाना गरिएको छ। त्यसैगरी मन्थली नगरपालिका–६ हात्तिटारका ३४ वर्षीय अनिश माझीले चलाएको बा ४ ख ९२४८ नम्बरको ट्रिपरलाई रु ३० हजार तथा मन्थली–६ कुनौरी निवासी ३० वर्षीय मनिष माझीले चलाएको मधेस प्रदेश ००३ त ९५८५ नम्बरको ट्र्याक्टरलाई रु १५ हजार जरिवाना गरिएको छ। तीनवटै सवारी साधनबाट कुल रु ६७ हजार ५ सय राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल राउतका अनुसार तामाकोशी नदी तथा आसपासका तटीय क्षेत्रमा पछिल्लो समय अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन, चोरी निकासी तथा वातावरणीय क्षति हुने गतिविधि बढ्न थालेपछि प्रहरीले नियमित गस्ती र निगरानीलाई थप प्रभावकारी बनाएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति वा सवारी साधनलाई कानुनअनुसार नियन्त्रणमा लिएर स्थानीय तहसँग समन्वय गरी कारबाही गरिने उनले बताए।
प्रहरीले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न स्थानीयवासीलाई समेत सहयोग गर्न आग्रह गरेको छ। अनुमति बिना नदीजन्य पदार्थ उत्खनन, ढुवानी वा बिक्री वितरण हुने जानकारी भए तत्काल प्रहरी वा सम्बन्धित स्थानीय तहलाई सूचना दिन अनुरोध गरिएको छ। यसबाट नदी प्रणाली, जैविक विविधता तथा वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको प्रहरीले जनाएको छ।
स्थानीय तह र प्रहरीको संयुक्त प्रयासबाट अवैध नदी दोहन नियन्त्रणमा प्रभावकारी कदम चालिएको भन्दै सम्बन्धित निकायले आगामी दिनमा पनि यस्ता गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताएका छन्। प्राकृतिक स्रोतको संरक्षण र कानुनको प्रभावकारी कार्यान्वयनका लागि निगरानी, अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाइएको छ।