एजेन्सी । जापानको दक्षिणी प्रान्त कुमामोतोमा आज अपराह्न गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको आशंका गरिएको छ। भूकम्पका कारण दर्जनौँ भवनमा क्षति पुगेको, सडक चिरिएको, पुलहरूमा असर परेको तथा विद्युत् सेवा अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा आपतकालीन अवस्था सिर्जना भएको छ।
स्थानीय समयअनुसार अपराह्न करिब ४ बजे गएको भूकम्पपछि कुमामोतोका विभिन्न क्षेत्रमा व्यापक क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। विशेषगरी ‘आन सपिङ मल’ भत्किँदा त्यहाँ किनमेलका लागि पुगेका सर्वसाधारण तथा कर्मचारी गरी ठूलो संख्यामा मानिसहरू भवनभित्रै थुनिएको आशंका गरिएको छ।
जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार मलमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहे पनि भग्नावशेष धेरै भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। स्थानीय प्रहरीका अनुसार भवनभित्र अझै धेरै मानिस फसेको हुन सक्ने भएकाले उद्धार टोलीले भारी उपकरण प्रयोग गरेर खोजी कार्य गरिरहेको छ।
प्रारम्भिक विवरणअनुसार कम्तीमा ५० जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ भने मृतकको आधिकारिक संख्या सार्वजनिक नभए पनि हताहतको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
भूकम्पका कारण जापानको तीव्र गतिमा चल्ने बुलेट ट्रेन (शिन्कान्सेन) सेवासमेत प्रभावित भएको छ। रेल सञ्चालन भइरहेका बेला आएको शक्तिशाली धक्काका कारण केही यात्रु घाइते भएको समाचारमा उल्लेख गरिएको छ। सुरक्षा सतर्कतास्वरूप बुलेट ट्रेनसहित स्थानीय रेल सेवा तत्कालका लागि स्थगित गरिएको छ।
जापानी प्रधानमन्त्री सनइ ताकाइचीले भूकम्पबाट प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको, हजारौँ घरमा क्षति पुगेको, सडकहरू चिरिएको, केही पुल भत्किएको तथा सार्वजनिक पूर्वाधारमा गम्भीर असर परेको जानकारी दिनुभएको छ। उहाँले सरकारको सम्पूर्ण संयन्त्र उद्धार तथा राहत कार्यमा केन्द्रित गरिएको पनि बताउनुभएको छ।
प्रधानमन्त्री ताकाइचीका अनुसार पीडितहरूको खोजी, उद्धार तथा राहत व्यवस्थापनका लागि ३६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। सेना, प्रहरी, अग्निनियन्त्रक, चिकित्सक र स्वयंसेवकहरूको संयुक्त टोली प्रभावित क्षेत्रमा खटिएको छ।
यसैबीच, जापानको प्रकोप व्यवस्थापन केन्द्रले सम्भावित पराकम्प (आफ्टरशक) तथा थप जोखिमलाई ध्यानमा राख्दै कम्तीमा ३ लाख मानिसलाई सुरक्षित स्थानमा रहेका आपतकालीन आश्रय केन्द्रहरूमा जान आग्रह गरेको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई क्षतिग्रस्त भवनमा प्रवेश नगर्न तथा आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरेको छ।
भूकम्पको केन्द्रबिन्दु नागासाकीबाट करिब ५५ किलोमिटर टाढा रहेको जनाइएको छ। जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ बेला–बेलामा शक्तिशाली भूकम्प आउने गरेका छन्। यद्यपि यसपटकको भूकम्पले कुमामोतो क्षेत्रमा व्यापक भौतिक क्षति पुर्याएको प्रारम्भिक आकलन गरिएको छ।
अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने बताएका छन्। सरकारले प्रभावित नागरिकलाई आवश्यक राहत, स्वास्थ्य सेवा र अस्थायी आवासको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।