काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको गतिविधि सक्रिय रहने मौसमविद्को अनुमान छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। मनसुन सक्रिय रहेकाले दिनभरि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भू–भागका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
आज देशका हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। भारी वर्षाका कारण पहिरो, बाढी, डुबान तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
रातिको मौसम
आज राति पनि देशभर मनसुनी प्रभाव कायम रहनेछ। हिमाली र पहाडी भू–भागका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशका हिमाली भू–भागका थोरै स्थान तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सबैमा अनुरोध गरेको छ।