Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आम-नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकाेप्रति प्रहरी महानिरीक्षक कार्कीकाे चिन्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ८ २०८३
  • 1K
    SHARES

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकको सूचना ग्रहण गर्ने शैलीमा तीव्र परिवर्तन आएको भन्दै सञ्चारमाध्यमले पनि समयअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँले प्रविधिको तीव्र विकाससँगै नागरिकको लामो समाचार वा लेख पढ्ने बानी घट्दै गएको र छोटो तथा दृश्य–श्रव्य सामग्रीप्रति आकर्षण बढेको बताउनुभयो।

शुक्रबार काठमाडौंमा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै आईजीपी कार्कीले सूचना प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी र आम नागरिकको आवश्यकता अनुरूप बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले अहिले सामाजिक सञ्जाल, विशेषगरी टिकटक, फेसबुक र अन्य डिजिटल प्लेटफर्मको प्रभावले नागरिकको अध्ययन र सूचना ग्रहण गर्ने शैली परिवर्तन भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार विगतमा मानिसहरूले पत्रपत्रिका, पुस्तक तथा लामो समाचार अध्ययन गरेर सूचना लिने गरेका भए पनि अहिले छोटो भिडियो, संक्षिप्त समाचार र दृश्य–श्रव्य सामग्रीबाट जानकारी प्राप्त गर्ने प्रवृत्ति बढ्दो क्रममा छ। यसले सञ्चार क्षेत्रसँगै सरकारी निकायहरूलाई समेत आफ्नो सूचना सम्प्रेषणको शैली परिवर्तन गर्न बाध्य बनाएको उहाँको भनाइ थियो।

आईजीपी कार्कीले नेपाल प्रहरीले पनि बदलिँदो समयको मागलाई आत्मसात् गर्दै आफ्नो सूचना प्रणाली, जनसम्पर्क र सञ्चार रणनीतिमा आवश्यक सुधार गरिरहेको जानकारी दिनुभयो। नागरिकसम्म सही, विश्वसनीय र छिटो सूचना पुर्‍याउन प्रहरीले डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग गरिरहेको उल्लेख गर्दै उहाँले आधुनिक प्रविधिको उपयोगमार्फत जनविश्वास अझ सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो।

उहाँले गलत सूचना, अफवाह र भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिन सक्ने भएकाले विश्वसनीय सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण भएको धारणा राख्नुभयो। सत्यतथ्यमा आधारित, जिम्मेवार र सन्तुलित पत्रकारिताले मात्रै समाजमा सकारात्मक सोचको विकास गर्न सक्ने उहाँको विश्वास थियो।

कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सञ्चारमाध्यमलाई केवल नकारात्मक घटना र विवादमा सीमित नरही समाज परिवर्तनका सकारात्मक पक्षहरूलाई पनि प्राथमिकताका साथ उजागर गर्न आग्रह गर्नुभयो। उहाँले कृषि, पर्यटन, सुरक्षा, विज्ञान तथा प्रविधि, उद्यमशीलता, नवप्रवर्तन र आधुनिक सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेका व्यक्तिहरूका सफलता र प्रेरणादायी कथालाई समाचारको विषय बनाउनुपर्ने बताउनुभयो।

“हामीले समाजमा भइरहेका राम्रा काम, मेहनत, संघर्ष र सफलताका उदाहरणलाई पनि उत्तिकै महत्व दिनुपर्छ,” उहाँले भन्नुभयो, “यस्ता समाचारले नागरिकमा सकारात्मक सोच विकास गर्नुका साथै नयाँ पुस्तालाई सिर्जनशील र उत्पादनमुखी कामतर्फ प्रेरित गर्छ।”

उहाँले सकारात्मक पत्रकारिताले समाजमा आशा, विश्वास र जिम्मेवारीको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै सञ्चार क्षेत्रले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। सञ्चारमाध्यमले सत्य, तथ्य र जनहितलाई केन्द्रमा राखेर सूचना सम्प्रेषण गर्दा समाज अझ सभ्य, अनुशासित, सचेत र उद्यमशील बन्ने विश्वास व्यक्त गर्नुभयो।

आईजीपी कार्कीले प्रविधिको विकासलाई चुनौतीका रूपमा मात्र नभई अवसरका रूपमा पनि लिनुपर्ने धारणा राख्दै बदलिँदो समयसँगै सञ्चारमाध्यम, सुरक्षा निकाय र आम नागरिकबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सही सूचना, सकारात्मक सोच र जिम्मेवार सञ्चारको माध्यमबाट समाजलाई रचनात्मक दिशातर्फ अघि बढाउन सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।

मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रममा सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चार क्षेत्रको भूमिका, डिजिटल युगमा सूचना प्रवाहका चुनौती तथा अवसर र सकारात्मक पत्रकारिताको आवश्यकताबारे समेत चर्चा गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४