काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जननायक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको विचार कुनै व्यक्ति, परिवार वा दलको सीमित सम्पत्ति नभई सम्पूर्ण मानव समाजका लागि मार्गदर्शक बन्न सक्ने ‘ब्रह्माण्डीय विचार’ भएको बताएका छन्।
बिहीबार ४४औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले वीपीको विचारलाई कुनै कम्पनीको ब्रान्ड वा ट्रेडमार्कसँग तुलना गर्न नमिल्ने स्पष्ट पारे। उनका अनुसार वीपीको विचार विशाल, उदार र समयसँगै अझ सान्दर्भिक बन्दै जाने राजनीतिक दर्शन हो।
शर्माले वीपीको रगत आफूहरूमा नरहे पनि उनका विचार, सिद्धान्त र आदर्शलाई आत्मसात् गरेर अघि बढ्ने जिम्मेवारी नेपाली कांग्रेसले लिएको बताए। उनले वर्तमान कांग्रेस नेतृत्वको उद्देश्य वीपीको राजनीतिक दर्शनलाई राष्ट्रिय सीमाभन्दा बाहिर विश्वभर परिचित गराउनु रहेको उल्लेख गरे।
उनले गौतम बुद्धपछि नेपाललाई विश्वमाझ चिनाउने महान् वैचारिक व्यक्तित्वका रूपमा वीपी कोइरालालाई स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार बुद्धले विश्वलाई शान्ति र करुणाको दर्शन दिएका थिए भने वीपीले लोकतन्त्र, समाजवाद, राष्ट्रियता र मानव स्वतन्त्रताको विचारलाई नयाँ उचाइ दिएका थिए।
कार्यक्रममा बोल्दै शर्माले कांग्रेसका नेता–कार्यकर्तालाई वीपीको विचार, सिद्धान्त र आदर्शलाई केवल भाषणमा सीमित नराखी व्यवहारमा उतार्न आग्रह गरे। बदलिँदो समय, प्रविधि र सामाजिक परिवेशअनुसार वीपीको दर्शनलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
उनले वीपीको राजनीतिक आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने सहिद तथा लोकतान्त्रिक आन्दोलनका योद्धाहरूको योगदान स्मरण गर्दै दुर्गानन्द झा, कामेश्वर कुशेश्वरलगायतका व्यक्तित्वहरूको उदाहरण प्रस्तुत गरे। वीपीको विचारलाई जीवित राख्ने शक्ति रगतको सम्बन्ध नभई त्याग, समर्पण र संघर्ष भएको उनको भनाइ थियो।
शर्माले भने, “वीपी कोइराला नाम गरेको विचार ब्रह्माण्डीय विचार हो। यो ब्रोडर विचार हो। यो कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर दर्ता गरिएको कुनै सामानको ब्रान्ड होइन। हामी वीपी कोइरालाको रगत बोकेका मानिस होइनौं, तर उहाँको विचार, सिद्धान्त र आदर्शलाई केन्द्रमा राखेर राजनीति गरिरहेका छौं।”
उनले वीपीको विचार कुनै परिवार, वंश वा निश्चित समूहमा सीमित नभई सम्पूर्ण नेपालीको साझा सम्पत्ति भएको बताए। लोकतन्त्र र स्वतन्त्रताको पक्षमा उभिने सबै नागरिकले वीपीको दर्शनबाट प्रेरणा लिन सक्ने उनको भनाइ थियो।
उपसभापति शर्माले नेपाली कांग्रेसले आगामी दिनमा वीपीको विचारलाई आधुनिक पुस्तामाझ अझ प्रभावकारी रूपमा पुर्याउने अभियान सञ्चालन गर्ने जानकारी दिए। उनले पार्टीका नेता–कार्यकर्तालाई विचारमा स्पष्ट, संगठनमा एकताबद्ध र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहन आग्रह गरे।
पार्टीभित्र देखिने मतभेद, आलोचना र फरक मतलाई लोकतान्त्रिक संस्कृतिको स्वाभाविक अभ्यासका रूपमा लिनुपर्ने धारणा पनि उनले राखे। स्वस्थ बहस र आलोचनाले पार्टीलाई अझ सुदृढ बनाउने भएकाले त्यसलाई नकारात्मक रूपमा लिन नहुने उनको भनाइ थियो।
उनले दशकौँसम्मको राजनीतिक संघर्ष, जेलजीवन, सशस्त्र द्वन्द्व र विभिन्न कठिन परिस्थितिका बाबजुद कांग्रेसको विचारबाट विचलित नभएका नेता तथा कार्यकर्ताको योगदानको प्रशंसा गरे। लोकतन्त्रको रक्षाका लागि उनीहरूले गरेको त्यागकै कारण कांग्रेस आज पनि जनताको विश्वासको केन्द्र बनेको उनले बताए।
शर्माले आगामी ५० वर्षपछि पनि नेपाली युवाले गौतम बुद्धपछि देशका महान् व्यक्तित्वको नाम लिँदा वीपी कोइरालालाई नै स्मरण गर्ने वातावरण निर्माण गर्नु कांग्रेसको दीर्घकालीन लक्ष्य हुनुपर्ने बताए। त्यसका लागि वीपीका विचारलाई शिक्षा, राजनीति, सामाजिक जीवन र राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्न आवश्यक रहेको उनले उल्लेख गरे।
उनका अनुसार वीपीको विचार कुनै निश्चित कालखण्डका लागि मात्र नभई बदलिँदो समयसँगै अझ उपयोगी र प्रासंगिक हुँदै जाने लोकतान्त्रिक दर्शन हो, जसले नेपाललाई समावेशी, समृद्ध र लोकतान्त्रिक भविष्यतर्फ डोर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।