Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मानिस होइन, नेपाली उत्पादन निर्यात गर्नुपर्छ : प्रधानमन्त्री बालेन्द्र शाह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ५ २०८३
  • 741
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वैदेशिक रोजगारीका लागि मानिस विदेश पठाएर मात्र देशको आर्थिक समृद्धि सम्भव नहुने भन्दै अब नेपालको प्राथमिकता स्वदेशमा उत्पादन बढाई नेपाली वस्तु विश्व बजारमा निर्यात गर्ने हुनुपर्ने बताउनुभएको छ।

मंगलबार तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग भएको भेटवार्तामा प्रधानमन्त्री शाहले देशको अर्थतन्त्रलाई बलियो बनाउन उत्पादनमुखी उद्योगको विकास अपरिहार्य रहेको धारणा राख्नुभएको हो। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै संघका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नुभयो, “देश मानिस निर्यात गरेर होइन, मानिसले उत्पादन गरेका वस्तु निर्यात गरेर बन्छ।”

प्रधानमन्त्री शाहले विशेषगरी तयारी पोशाक उद्योगलाई नेपालको निर्यातमुखी अर्थतन्त्रको प्रमुख आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले सरकारले तयारी पोशाक उद्योगका समस्या समाधान, निर्यात विस्तार तथा निजी लगानी प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।

किन पछाडि पर्‍यो नेपाली पोशाक उद्योग ?

छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाजस्ता मुलुकभन्दा तयारी पोशाक उद्योगमा किन पछाडि पर्‍यो भन्ने विषयमा उद्योगीहरूसँग विस्तृत जिज्ञासा राख्नुभएको थियो। खुला सीमाका कारण हुने चोरी पैठारी, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, नीति तथा पूर्वाधारका कमजोरीलगायत विषयमा उद्योगीहरूले आफ्ना धारणा राखेका थिए।

संघका अध्यक्ष पाण्डेका अनुसार सन् २००५ अघिको ‘मल्टिफाइबर एग्रिमेन्ट’ अवधिमा नेपाली तयारी पोशाक उद्योगले हासिल गरेको सफलतालाई पुनः फर्काउने सम्भावनाबारे पनि विस्तृत छलफल भएको थियो।

मन्त्रालयमा रोकिएका काम तत्काल फुकुवा गर्न निर्देशन

उद्योगीहरूले विभिन्न मन्त्रालयमा रोकिएका नीति तथा प्रशासनिक विषय प्रधानमन्त्रीसमक्ष राखेपछि उहाँले सम्बन्धित मन्त्रालयलाई तत्काल समन्वय गरेर समस्या समाधान गर्न निर्देशन दिनुभएको छ।

त्यसैगरी अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (FTA) विस्तार गर्ने, वैदेशिक प्रत्यक्ष लगानी (FDI) आकर्षित गर्ने, बहुराष्ट्रिय कम्पनीहरू नेपाल भित्र्याउने तथा दुई दशकदेखि बन्द रहेका हेटौंडा कपडा उद्योगजस्ता रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

‘ग्रीन गार्मेन्ट भिलेज’ अवधारणामा प्रधानमन्त्रीको चासो

छलफलमा काठमाडौं उपत्यकाभर छरिएका गार्मेन्ट उद्योगलाई एउटै स्थानमा व्यवस्थित गर्दै ‘ग्रीन गार्मेन्ट भिलेज’ स्थापना गर्ने अवधारणामाथि पनि कुराकानी भएको थियो।

प्रधानमन्त्री शाहले यस्तो परियोजनालाई औद्योगिक पर्यटनसँग जोडेर नयाँ रोजगारी सिर्जना गर्न सकिने बताउँदै उद्योगीहरूलाई स्पष्ट कार्ययोजना तयार गरी सरकारसमक्ष पेश गर्न आग्रह गर्नुभएको छ।

फाइबरदेखि फेसन र निर्यातसम्मको चक्र विकास गर्न जोड

प्रधानमन्त्री शाहले कपास खेती, प्लान्ट–बेस्ड तथा एनिमल–बेस्ड फाइबर उत्पादन, फाइबरदेखि फ्याब्रिक र फ्याब्रिकदेखि फेसन हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्पूर्ण उत्पादन शृंखला नेपालमै विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

यसका लागि युवालाई सीपमूलक तालिम, लगानीमैत्री वातावरण, विकास साझेदारसँग सहकार्य तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उहाँको धारणा थियो।

अमेरिकामा रोकिएका नेपाली पोशाकको निर्यात सहजीकरण गर्न निर्देशन

अमेरिकामा ‘फ्लेमेबिलिटी’ परीक्षणका कारण रोकिएका नेपाली तयारी पोशाकको निर्यातलाई सहज बनाउन प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयलाई आवश्यक कूटनीतिक पहल गर्न निर्देशन दिनुभएको पनि उद्योगीहरूले बताएका छन्।

प्रधानमन्त्रीले सरकारले आवश्यक नीतिगत सुधार, व्यापार सम्झौता विस्तार र अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी समन्वय गर्न सके नेपाली तयारी पोशाकको निर्यात अहिलेको तुलनामा १० देखि २० गुणासम्म वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।

“समस्या मात्र होइन, समाधान पनि लिएर आउनुस्”

तयारी पोशाक उद्योग संघका महासचिव भीमकुमार गिरीका अनुसार प्रधानमन्त्री शाहले उद्योगीहरूलाई समस्या मात्रै प्रस्तुत नगरी त्यसको व्यावहारिक समाधानसहित प्रस्ताव ल्याउन आग्रह गर्नुभएको छ।

उहाँले उद्योगहरू काठमाडौंजस्ता शहरमा मात्र केन्द्रित नगरी ग्रामीण क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै तयारी पोशाक उद्योगका लागि आवश्यक कच्चा पदार्थ र सहायक सामग्रीसमेत नेपालमै उत्पादन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने प्रधानमन्त्रीको धारणा रहेको छ।

उद्योगीहरू उत्साहित

संघका अध्यक्ष पशुपतिदेव पाण्डेले गिरिजाप्रसाद कोइरालापछि पहिलो पटक कुनै प्रधानमन्त्रीले तयारी पोशाक उद्योगीहरूसँग यति गम्भीर र विस्तृत छलफल गरेको बताउँदै यसबाट निजी क्षेत्र उत्साहित भएको प्रतिक्रिया दिनुभयो।

उहाँका अनुसार प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारका रूपमा हेरेको स्पष्ट सन्देश दिनुभएको छ। सरकार उद्योगमैत्री नीति र निर्यातमुखी अर्थतन्त्र निर्माणमा प्रतिबद्ध रहेको विश्वास उद्योगीहरूले व्यक्त गरेका छन्।

नेपालबाट हाल वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात भइरहेको संघले जनाएको छ। छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४