Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ अवरुद्ध नसाको सफल उपचार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ४ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक अत्याधुनिक ‘अर्बिटल एथेरेक्टोमी (Orbital Atherectomy)’ प्रविधिको प्रयोग गर्दै जटिल रक्तनली (नसा) सम्बन्धी रोगको सफल उपचार गरेको छ। यस उपलब्धिसँगै खुट्टाको नसा पूर्ण रूपमा बन्द भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीलाई अब चिरफारबिनै प्रभावकारी उपचार गर्ने नयाँ विकल्प नेपालमै उपलब्ध भएको अस्पतालले जनाएको छ।

केएमसीका अनुसार यो प्रविधिबाट पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली र जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्ण को सफल उपचार गरिएको हो। नेपालमा पहिलो पटक प्रयोग गरिएको यस प्रविधिले जटिल रक्तनली रोगको उपचारमा नयाँ सम्भावना सिर्जना गरेको चिकित्सकहरूको भनाइ छ।

हीरामाया लामो समयदेखि खुट्टाको रक्तनली कडा भएर रक्तसञ्चार अवरुद्ध हुने समस्याबाट पीडित हुनुहुन्थ्यो। जसका कारण उहाँको खुट्टा नीलो हुने, अत्यधिक चिसो महसुस हुने तथा लागेको घाउ निको नहुने जस्ता समस्या देखिएका थिए। अवस्था जटिल बन्दै गएपछि उहाँ उपचारका लागि काठमाडौं मेडिकल कलेज पुग्नुभएको थियो।

केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभाग का प्रमुख डा. कृष्ण बस्याल नेतृत्वको विशेषज्ञ टोलीले बिरामीको उपचार गरेको हो। चिकित्सकहरूका अनुसार रक्तनलीभित्र अत्यधिक कडा क्याल्सियम जमेकाले रक्तसञ्चार पूर्ण रूपमा अवरुद्ध भएको थियो।

डा. बस्यालले जानकारी दिँदै सुरुमा खुला शल्यक्रिया (ओपन सर्जरी) मार्फत रक्तनलीको मर्मत गरिएको भए पनि तल्लो भागमा रहेको अत्यन्त कडा अवरोध सामान्य विधिबाट हटाउन सम्भव नभएको बताउनुभयो। त्यसपछि ‘अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी रक्तनलीभित्र जमेको कडा क्याल्सियमलाई विशेष उपकरणमार्फत हटाइएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार यो प्रविधिको सबैभन्दा ठूलो विशेषता भनेको बिरामीको खुट्टा काट्नुपर्ने अवस्थालाई टार्दै रक्तसञ्चारलाई पुनः सामान्य बनाउनु हो। “दुवै बिरामीको अवस्था निकै जटिल थियो। परम्परागत उपचार मात्रै अपनाएको भए खुट्टा गुम्ने सम्भावना धेरै थियो। तर अर्बिटल एथेरेक्टोमी प्रविधिले रक्तनलीको अवरोध सुरक्षित रूपमा हटाएर रक्तसञ्चार पुनः सञ्चालन गर्न सफल भयौं,” डा. बस्यालले भन्नुभयो।

उहाँले दुवै बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिँदै भविष्यमा यस्तै समस्या भएका अन्य बिरामीलाई पनि यही अत्याधुनिक प्रविधिबाट उपचार गर्ने तयारी भइरहेको बताउनुभयो।

उपचारपछि हीरामायाका नाति विशाल राम्जाली ले परिवारले खुट्टा काट्नुपर्ने डर बोकेर अस्पताल पुगे पनि अन्ततः खुट्टा जोगिनु ठूलो राहत भएको प्रतिक्रिया दिनुभयो। “धेरै अस्पतालमा जाँदा खुट्टा काट्नुपर्ने सम्भावना धेरै छ भनिएको थियो। त्यसैले हामी निकै चिन्तित थियौँ। तर केएमसी आएपछि खुट्टा पनि जोगियो, नसाको समस्या पनि समाधान भयो। अहिले उहाँ आफैं हिँडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्छ। हामी अस्पताल र सम्पूर्ण चिकित्सक टोलीप्रति अत्यन्त आभारी छौँ,” उहाँले भन्नुभयो।

यसैगरी, जनकपुरका कल्याणलाल कर्ण को अवस्था अझ जटिल रहेको अस्पतालले जनाएको छ। उहाँको एउटा खुट्टा यसअघि नै काटिसकिएको थियो भने अर्को खुट्टाको रक्तनली पनि पूर्ण रूपमा बन्द भइसकेको थियो। यस्तो अवस्थामा पनि अर्बिटल एथेरेक्टोमी प्रविधिमार्फत सफल उपचार भएपछि अर्को खुट्टा जोगाउन सम्भव भएको चिकित्सकहरूले बताएका छन्।

केएमसीका अनुसार यो प्रविधिले रक्तनलीभित्र जमेको कडा क्याल्सियमलाई विशेष घुम्ने उपकरणको सहायताले विस्तारै हटाउँछ, जसका कारण रक्तसञ्चार सहज रूपमा पुनः सञ्चालन हुन्छ। यसले ठूलो चिरफार गर्नुपर्ने आवश्यकता कम गर्नुका साथै बिरामीको निको हुने समय पनि छोटो बनाउने विश्वास गरिएको छ।

अस्पतालले नेपालमै पहिलो पटक यस्तो अत्याधुनिक प्रविधि सफलतापूर्वक प्रयोग गर्न सफल हुनु रक्तनलीसम्बन्धी उपचार सेवामा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। दक्ष विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र नयाँ प्रविधिको संयोजनले अब नसा बन्द भएर अङ्ग गुमाउने जोखिममा रहेका बिरामीले स्वदेशमै गुणस्तरीय उपचार पाउने विश्वास अस्पतालको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४