काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरले पछिल्लो तीन महिनाको अवधिमा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको जनाएको छ। कार्यालयका अनुसार यस अवधिमा लाइसेन्स वितरणबाट मात्रै राज्यकोषमा रु १९ करोड ८२ लाख राजस्व संकलन भएको छ।
कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार सोही अवधिमा कुल दुई लाख ३८ हजार थान सवारीचालक अनुमतिपत्र छापिएको भए पनि हालसम्म ९० हजार सेवाग्राहीलाई मात्रै वितरण गरिएको छ। बाँकी अनुमतिपत्र सम्बन्धित सेवाग्राहीले कार्यालयमा उपस्थित भएर लिन बाँकी रहेको उनले बताए।
श्रेष्ठका अनुसार अहिले कार्यालयमा दैनिक एक हजारदेखि एक हजार ८०० जनासम्म सेवाग्राहीलाई सवारीचालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ। सेवाग्राहीको चापलाई व्यवस्थापन गर्दै छिटो, सहज र व्यवस्थित सेवा प्रदान गर्न कर्मचारी परिचालन तथा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाइएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पछिल्लो समय नयाँ लाइसेन्सका लागि आवेदन दिने, ट्रायल परीक्षा उत्तीर्ण गर्ने तथा नवीकरण गर्ने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढिरहेको छ। यसका कारण छपाइ र वितरण दुवै कार्य तीव्र गतिमा अघि बढाइएको छ।
यातायात व्यवस्था कार्यालयले छापिएका अनुमतिपत्र समयमै लिन सेवाग्राहीलाई आग्रह गरेको छ। लामो समयसम्म लाइसेन्स कार्यालयमै थन्किँदा व्यवस्थापनमा समस्या हुने भएकाले सम्बन्धित व्यक्तिले आफ्नो लाइसेन्स तयार भएलगत्तै कार्यालयबाट बुझ्न अनुरोध गरिएको छ।
डिजिटल प्रविधिको प्रयोग, सेवा प्रवाहमा सुधार तथा व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइएकाले पछिल्लो समय लाइसेन्स वितरण प्रक्रिया पहिलेको तुलनामा सहज बन्दै गएको कार्यालयको भनाइ छ। साथै, सेवा प्रवाहलाई अझ छरितो बनाउन आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा समेत निरन्तर काम भइरहेको कार्यालयले जनाएको छ।
कार्यालयले आगामी दिनमा पनि सेवाग्राहीलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्दै राजस्व संकलनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।