काठमाडौं। इलाका प्रहरी कार्यालय (ईप्रका) गढवाको आयोजनामा मंगलबार नवआगन्तुक प्रहरी निरीक्षक साहिल बुढाथोकी र देउखुरी क्षेत्रमा क्रियाशील पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी–सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने, सूचना आदानप्रदानलाई व्यवस्थित गर्ने तथा क्षेत्रको शान्ति सुरक्षा सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको हो।
कार्यक्रममा गढवा र राजपुर गाउँपालिकासहित ईप्रका गढवाको कार्यक्षेत्रभित्र पर्ने विभिन्न सुरक्षा चुनौती, अपराध नियन्त्रण, सामाजिक विकृति तथा समसामयिक शान्ति सुरक्षाका विषयमा सहभागीहरूबीच खुला छलफल भएको थियो।
नवआगन्तुक प्रहरी निरीक्षक साहिल बुढाथोकीले आफ्नो कार्यक्षेत्रभित्र कानुनको प्रभावकारी कार्यान्वयन गर्दै नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अपराध नियन्त्रण, नागरिकमैत्री प्रहरी सेवा र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
प्रहरी निरीक्षक बुढाथोकीले प्रहरी र सञ्चारमाध्यमबीचको सम्बन्ध विश्वास, पारदर्शिता र सहकार्यमा आधारित हुनुपर्नेमा जोड दिँदै स्थानीयवासी तथा सञ्चारकर्मीलाई शान्ति सुरक्षा, आपराधिक गतिविधि, लागूऔषध कारोबार, सामाजिक विकृति वा कुनै पनि शंकास्पद घटनाबारे तत्काल इलाका प्रहरी कार्यालय गढवालाई जानकारी गराउन आग्रह गर्नुभयो। समयमै प्राप्त हुने सूचनाले अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
अन्तरक्रियाका क्रममा पत्रकारहरूले देउखुरी क्षेत्रमा पछिल्लो समय देखिएका विभिन्न सुरक्षा चुनौतीबारे प्रहरीको ध्यानाकर्षण गराएका थिए। विशेषगरी लमही–कोइलाबास सडकखण्डमा बढ्दो सवारी दुर्घटना, लागूऔषधको ओसारपसार, नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी निकासी, वन पैदावार विशेषगरी काठको अवैध कटानी र ओसारपसार, साथै अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी निगरानी र कडाइ आवश्यक रहेको धारणा पत्रकारहरूले राखेका थिए।
पत्रकारहरूले सुरक्षा निकाय र सञ्चारमाध्यमबीच नियमित संवाद र समन्वय भएमा अपराध नियन्त्रण, जनचेतना अभिवृद्धि तथा सत्यतथ्य सूचना प्रवाहमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा गढवा, लमही, राप्ती तथा भालुवाङ क्षेत्रमा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आगामी दिनमा पनि प्रहरी र सञ्चारमाध्यमबीच नियमित अन्तरक्रिया, सूचना आदानप्रदान तथा सहकार्यलाई निरन्तरता दिँदै क्षेत्रको शान्ति सुरक्षा कायम राख्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय तह, सुरक्षा निकाय, सञ्चारमाध्यम र नागरिकबीचको सहकार्यले मात्रै अपराध नियन्त्रण, कानुनी शासनको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।