काठमाडौं। नेपाल आयल निगमले देशभर भरी एलपी ग्यास सिलिण्डरको बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको छ। निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि मुलुकभर साविककै १४.२ केजी क्षमताको ग्यास सिलिण्डर बिक्री–वितरण गरिने जनाएको हो।
निगमका अनुसार पछिल्ला दिनमा भारतस्थित इण्डियन आयल कर्पोरेशन (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास लोडिङको अवस्थामा सुधार आएको छ। आपूर्ति सहज बन्दै गएपछि देशभर पूर्ण क्षमताको ग्यास सिलिण्डर वितरण गर्ने निर्णय गरिएको निगमले जनाएको छ।
आम उपभोक्ताबाट १४.२ केजी क्षमताको एलपी ग्यास सिलिण्डरको माग उच्च रहेको तथा आपूर्ति अवस्था पनि सामान्य बन्दै गएको मूल्याङ्कनपछि साविककै परिमाणमा ग्यास भर्ने व्यवस्था मिलाइएको निगमले स्पष्ट पारेको छ।
निगमले १४.२ केजी ग्यास सिलिण्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ कायम रहेको जानकारी दिएको छ। यसअघि आपूर्तिमा आएको असहज अवस्था र बजारमा ग्यास अभाव हुन नदिन निगमले अस्थायी रूपमा ७.१ केजी ग्यास भरेर वितरण गर्ने व्यवस्था लागू गरेको थियो।
अब आपूर्ति प्रणालीमा सुधार आएसँगै उक्त अस्थायी व्यवस्था हटाइएको छ। निगमले देशभरका ग्यास उद्योग, डिलर तथा वितरकलाई बुधबारदेखि नियमित रूपमा १४.२ केजी क्षमताका सिलिण्डर भरेर बिक्री–वितरण गर्न निर्देशन दिएको छ।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा आवश्यकताअनुसार मात्रै खरिद गर्न आग्रह गरेको छ। पर्याप्त आपूर्ति भइरहेकाले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने गतिविधि नगर्न पनि सम्बन्धित सबै पक्षलाई चेतावनी दिइएको छ।
निगमका अनुसार आगामी दिनमा पनि भारतबाट नियमित रूपमा ग्यास आपूर्ति हुने अपेक्षा गरिएको छ। आपूर्ति सहज रहे देशभर ग्यास वितरण प्रणाली सामान्य अवस्थामा सञ्चालन हुने र उपभोक्ताले सहज रूपमा भरी सिलिण्डर ग्यास प्राप्त गर्न सक्ने निगमले विश्वास व्यक्त गरेको छ।
