काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण लगायतका अभियुक्तहरूलाई विभिन्न कसुरमा कैद तथा जरिबानाको फैसला सुनाएको हो।
अदालतले टोपबहादुर रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकेको छ। फैसलाअनुसार उनलाई ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना सुनाइएको छ। सोही कसुरमा थप ६ महिना कैद समेत जोडिएको भए पनि प्रचलित कानुनी व्यवस्थाअनुसार एकीकृत सजाय निर्धारण गर्दा उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना भोग्नुपर्ने अदालतले फैसला गरेको छ।
यसैगरी, अदालतले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकेको छ। खाणलाई ठगी कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना निर्धारण गरिएको छ। साथै थप ३ महिना कैद समेत जोडिए पनि एकीकृत सजायअन्तर्गत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना कायम गरिएको अदालतले जनाएको छ।
अदालतले यस प्रकरणका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारीलाई पनि समान रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ। उनीहरूलाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको हो। फैसलाअनुसार सरकारी लिखत किर्तेमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, ठगीमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको छ। एकीकृत सजाय लागू हुँदा उनीहरूले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना भोग्नुपर्नेछ।
यस्तै, अदालतले इन्द्रजित राईलाई पनि एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना निर्धारण गरेको छ।
त्यसैगरी, टेकनाथ रिजाललाई उक्त प्रकरणमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाइएको छ।
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालका नागरिकलाई नक्कली कागजात तयार गरी भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरिएको अभियोग लागेको थियो। यस घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो चर्चा पाएको थियो भने उच्च तहका राजनीतिक नेता, पूर्वप्रशासक, बिचौलिया तथा अन्य व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरिएको थियो।
काठमाडौं जिल्ला अदालतको पछिल्लो फैसलासँगै यस प्रकरणमा दोषी ठहर भएका प्रमुख अभियुक्तहरूको सजाय निर्धारण भएको छ। यद्यपि, फैसलाप्रति असन्तुष्ट पक्षले प्रचलित कानुनी व्यवस्थाअनुसार उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।
यस्तो छ सजाय विवरणः


