Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अविरल वर्षापछि विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, सेतीवेणी क्षेत्रमा बाढीको जोखिम बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ३० २०८३
  • 931
    SHARES

काठमाडौं । लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। कालीगण्डकी नदी र सेतीखोलामा जलसतह उल्लेख्य रूपमा बढेपछि धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने शालिग्राम शिला पूर्ण रूपमा पानीले ढाकिएको हो।

शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारी का अनुसार कालीगण्डकी नदीको बहाव एक्कासि बढेपछि शालिग्राम शिलासँगै त्यस क्षेत्रमा जाने मुख्य बाटो, सत्तल तथा परिक्रमा गर्ने स्थानसमेत डुबानमा परेका छन्। शिलाको संरक्षणका लागि निर्माण गरिएको तटबन्ध तथा ग्याबियन जालीसमेत पानीले पुरिएपछि सुरक्षाका दृष्टिले दर्शन तथा आवतजावत पूर्ण रूपमा रोकिएको छ।

डुबानका कारण शालिग्राम क्षेत्रमा दैनिक पूजाआजा गर्दै आएका पुजारी तथा पण्डितहरू सुरक्षित स्थानमा सर्न बाध्य भएका छन्। नियमित रूपमा दर्शन गर्न आउने श्रद्धालुहरू पनि अहिले शालिग्राम शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन्।

स्थानीय तिलक पराजुली का अनुसार सेतीखोला र कालीगण्डकी नदीको उच्च बहावका कारण परिक्रमा स्थल पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। यद्यपि हालसम्म आसपासका बस्तीमा प्रत्यक्ष क्षति नभएको र तत्काल बस्ती डुबानको खतरा नरहेको उनले बताएका छन्।

यसैबीच, कालीगण्डकी नदीको बहाव बढेसँगै पर्वत, स्याङ्जा र गुल्मीको सीमाक्षेत्रमा रहेको सेतीवेणी बजार पुनः डुबानको जोखिममा परेको छ। विशेषगरी कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण नदीको बहाव बढ्दा बजार क्षेत्रमा बाढीको खतरा बढ्ने गरेको स्थानीयको भनाइ छ।

नदीको सतह निरन्तर बढिरहेकाले पर्वततर्फको बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फका करिब दुई सय व्यापारी तथा स्थानीयवासी त्रासमा रहेका छन्। दुई वर्षअघि साउन महिनामा आएको बाढी बजारसम्म पुगेपछि एक घर पूर्ण रूपमा भत्किएको तथा आधा दर्जनभन्दा बढी घर विस्थापित भएका थिए। त्यसयता प्रत्येक वर्ष मनसुन सक्रिय हुँदा स्थानीयमा चिन्ता बढ्ने गरेको छ।

गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराई ले कालीगण्डकी नदीको बहाव व्यवस्थापन नगरेसम्म सेतीवेणी क्षेत्रको जोखिम नहट्ने बताएका छन्। उनका अनुसार गुल्मीतर्फबाट नदीको बहाव मोडेर शालिग्राम शिलाको दीर्घकालीन संरक्षण गर्नुपर्ने माग स्थानीयस्तरबाट उठ्दै आएको छ।

त्यस्तै, पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङ ले शालिग्राम शिला अवस्थित क्षेत्र तीन स्थानीय तहको साझा सम्पदा भएकाले स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाबीच समन्वय गरी दीर्घकालीन संरक्षण योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

यता, जिल्ला प्रहरी कार्यालय पर्वतले मनसुन सक्रिय रहेकाले सेतीवेणी क्षेत्रसहित नदी, खोला तथा पहिरो प्रभावित स्थानमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरी निरीक्षक राजन पटेल ले नदीको सतह अझ बढ्न सक्ने सम्भावना रहेकाले अनावश्यक रूपमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान, स्थानीय प्रशासन र सुरक्षा निकायको सूचनालाई पालना गर्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।

मनसुनजन्य विपद्का कारण धार्मिक, सामाजिक तथा आर्थिक गतिविधिमा समेत असर परिरहेको अवस्थामा शालिग्राम शिलाको संरक्षण र सेतीवेणी क्षेत्रको दीर्घकालीन बाढी व्यवस्थापनका लागि प्रभावकारी योजना आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४