काठमाडौं । अविरल वर्षासँगै विभिन्न स्थानमा खसेको पहिरो हटाइएपछि देशकै प्रमुख राजमार्गमध्ये एक नारायणगढ–मुग्लिन सडकखण्ड पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण अवरुद्ध बनेको सडक मंगलबार बिहानदेखि पूर्ण रूपमा खुला गरिएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकखण्डको तुइनखोला, केराबारी र जलबीरे क्षेत्रमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा प्रभावित भएको थियो। मंगलबार बिहानैदेखि डोजर तथा अन्य हेभी मेसिन परिचालन गरी पहिरो हटाउने कार्य सम्पन्न भएपछि दुवैतर्फबाट सवारी आवागमन सुचारु गरिएको हो।
लगातारको वर्षाका कारण सडकमाथिबाट ढुंगा र माटो खस्ने जोखिम बढेपछि सोमबार साँझ जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा सतर्कता अपनाउँदै उक्त सडकखण्डमा सवारी सञ्चालन अस्थायी रूपमा रोक लगाएको थियो। रातिको समयमा पहिरो खस्ने सम्भावना उच्च रहेकाले यात्रु र सवारी चालकको सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको प्रशासनले जनाएको थियो।
सडक सञ्चालनमा आए पनि सोमबार साँझदेखि सयौँ मालवाहक, यात्रुवाहक तथा निजी सवारी साधन विभिन्न स्थानमा रोकिएका कारण अहिले सडकमा सवारीको चाप अत्यधिक रहेको प्रहरीले जनाएको छ। जाम व्यवस्थापन तथा सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी परिचालन गरिएको छ।
सम्बन्धित निकायले सडक खुले पनि वर्षा जारी रहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम कायम रहेको भन्दै यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी रातिको समयमा अनावश्यक यात्रा नगर्न, मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा ट्राफिक प्रहरी र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
मनसुन सक्रिय रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा अझै पनि पहिरोको जोखिम उच्च रहेको छ। सडक विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले सम्भावित अवरोधलाई तत्काल हटाउन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको जनाएको छ।