काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आइतबार एक्कासी आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण मोदी खोलाको जलसतह ह्वात्तै बढ्दा नदी किनारका घर, होटल, रेष्टुरेन्ट तथा सडकमा क्षति पुगेको छ भने पर्यटकीय गाउँ घान्द्रुक जाने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार किम्रुङ खोलामा लेदोसहितको बाढी आएपछि मोदी खोलामा पानीको बहाव अत्यधिक बढेको थियो। त्यसकै प्रभावले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारस्थित दिलीप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको छ।
त्यसैगरी स्थानीय जगन पुनको रेष्टुरेन्टमा पनि उल्लेखनीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ। बाढीसँगै आएको तीव्र कटानका कारण पर्यटकीय गाउँ घान्द्रुक जोड्ने नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ, जसले स्थानीय बासिन्दा तथा पर्यटकको आवागमन प्रभावित भएको छ।
बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल पनि बगाएको छ। अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटक र स्थानीयवासीको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
गाउँपालिका अध्यक्ष केसीले एक्कासी आएको बाढीले पूर्वसूचना बिना ठूलो क्षति पुर्याएको बताउँदै जोखिम क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सारिएको जानकारी दिए।
स्थानीयवासीका अनुसार नदीको माथिल्लो क्षेत्रमा ठूलो पहिरो खसेर केही समय नदी थुनिएको र पछि एक्कासी बाँध फुटेझैँ खोलिँदा भीषण बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि यसको यथार्थ कारणबारे प्राविधिक अध्ययनपछि मात्रै पुष्टि हुने जनाइएको छ।
घटनापछि स्थानीय प्रशासन, गाउँपालिका तथा सुरक्षा निकायले मोदी खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। जिल्ला प्रशासन कार्यालयले नदी किनारमा नजान, अनावश्यक आवतजावत नगर्न तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संयुक्त टोली घटनास्थलमा पुगेर क्षतिको विवरण सङ्कलन, उद्धार तथा आवश्यक व्यवस्थापनमा जुटेको छ।
प्रशासनले प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका बस्तीमा निगरानी बढाएको जनाएको छ। साथै मौसम प्रतिकूल रहेकाले स्थानीयवासी र पर्यटकलाई आवश्यक सावधानी अपनाउन तथा आधिकारिक निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरिएको छ।