काठमाडौं। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौंमा मुगुवासीले प्रदर्शन गरेका छन्। शुक्रबार साँझ माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गरेका हुन्।
मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको काठमाडौंस्थित वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमार्फत उपचार भइरहेको छ।
उक्त घटनापछि आक्रोशित मुगुवासीहरूले माइतीघरमा भेला भएर सरकारको ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले हातहातमा विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए भने न्यायको माग गर्दै नाराबाजीसमेत गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गर्न तथा दोषी देखिने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, गणेश नेपालीको प्रभावकारी उपचार र पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि उनीहरूले आग्रह गरेका छन्।
माइतीघरमा आयोजित प्रदर्शनमा मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खडकबहादुर शाही पनि सहभागी भएका थिए। उनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडितले न्याय पाउनुपर्ने र यस्ता घटना दोहोरिन नदिन राज्य संवेदनशील हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। यता, गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले वीर अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको टोलीले निरन्तर उपचार गरिरहेको छ। सरकारले उनको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको छ भने घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।