चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत उच्च जोखिमयुक्त तुइन खोलामा पहिरो रोकथामको दीर्घकालीन कार्य सुरु हुने भएको छ। यसका लागि डिभिजन सडक कार्यालय, चितवनले सम्बन्धित निर्माण कम्पनीलाई सम्झौताका लागि आह्वान गरेको छ। करिब रु २२ करोड २१ लाख लागतमा सञ्चालन हुने यो आयोजना आगामी १० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
तुइन खोलामा वर्षेनी दोहोरिने पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने हजारौं यात्रुले सास्ती बेहोर्दै आएका छन्। विशेषगरी वर्षायाममा पहिरो खस्ने जोखिम अत्यधिक हुने भएकाले सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ। यही समस्यालाई स्थायी रूपमा समाधान गर्ने उद्देश्यले पहिरो रोकथामको संरचना निर्माण गर्न लागिएको हो।
गत वर्षको असोज ३ र ७ गते परेको लगातारको वर्षापछि तुइन खोलामा ठूलो पहिरो खसेर नारायणगढ–मुग्लिन सडक १०४ घण्टासम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक बन्द हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका थिए भने यात्रु तथा ढुवानी क्षेत्रले ठूलो आर्थिक र मानवीय समस्या झेल्नुपरेको थियो। उक्त घटनापछि सरकारले सो स्थानलाई उच्च प्राथमिकतामा राखेर स्थायी समाधानको तयारी थालेको हो।
डिभिजन सडक कार्यालय, चितवनका प्राविधिक अर्जुन घिमिरेका अनुसार सम्झौतापछि छनोट हुने निर्माण कम्पनीले निर्धारित समयभित्र सम्पूर्ण काम सम्पन्न गर्नुपर्नेछ। उनले आयोजनाको गुणस्तर र समयसीमामा विशेष ध्यान दिइने बताउँदै काममा ढिलाइ हुन नदिने गरी अनुगमन गरिने जानकारी दिए।
उनका अनुसार तुइन खोलाको नारायणगढतर्फको भित्तोमा १६५ मिटर लम्बाइ र १०५ मिटर चौडाइको पहिरो रोकथाम संरचना निर्माण गरिनेछ। उक्त क्षेत्रमा बलियो रिटेनिङ संरचना, ढुंगा तथा माटो नियन्त्रण प्रणाली र आवश्यक इन्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो नियन्त्रण गरिने योजना रहेको छ।
विशेषज्ञहरूका अनुसार केही वर्षअघि नारायणगढ–मुग्लिन सडक विस्तारका क्रममा सडकका लागि पहाड काटिएको भित्तो कमजोर बनेको थियो। त्यसपछि गत वर्ष एकाएक ठूलो पहिरो खसेपछि सो स्थान झनै जोखिमपूर्ण बनेको हो। अहिले पनि भारी वर्षा हुँदा त्यहाँबाट जुनसुकै बेला पहिरो खस्न सक्ने अवस्था रहेको छ।
संभावित जोखिमलाई मध्यनजर गर्दै सडक विभागले मुग्लिन र सेती दोभान क्षेत्रमा पहिरो पन्छाउन आवश्यक पर्ने हेभी उपकरण, एक्स्काभेटर तथा अन्य मेसिनरी तयारी अवस्थामा राखेको जनाएको छ। आकस्मिक रूपमा पहिरो खसेमा सडक यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले ती उपकरण २४सै घण्टा तयारी अवस्थामा राखिएका हुन्।
नारायणगढ–मुग्लिन सडक देशकै सबैभन्दा व्यस्त राजमार्गमध्ये एक हो। यस सडकमार्फत काठमाडौंलाई पूर्वी तथा पश्चिमी नेपालसँग जोड्ने मुख्य यातायात सेवा सञ्चालन हुने भएकाले यहाँ हुने कुनै पनि अवरोधले राष्ट्रिय आपूर्ति प्रणाली, व्यापार, पर्यटन तथा जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।
स्थायी पहिरो रोकथामको काम सम्पन्न भएपछि तुइन खोलामा वर्षेनी दोहोरिने सडक अवरोधको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ। यसले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्नुका साथै सडक सञ्चालनलाई थप भरपर्दो बनाउने विश्वास गरिएको छ।