काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ। पछिल्लो विवरणअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या दुई हजार ६४५ पुगेको छ भने १२ हजार ६६६ जना घाइते भएका छन्।
भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष तथा अस्थायी शिविर सञ्चालनका लागि गठन गरिएको कमान्ड सेन्टरका प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार उद्धार तथा राहतका काम तीव्र रूपमा जारी छन्।
रोड्रिगेजका अनुसार हालसम्म छ हजार ४६२ जनाको सकुशल उद्धार गरिएको छ। त्यसैगरी भूकम्पबाट प्रभावित ८६ हजार ११७ परिवारलाई राहत सामग्री तथा आवश्यक सहायता उपलब्ध गराइएको छ। प्रभावित क्षेत्रमा खाद्यान्न, पिउने पानी, औषधि, अस्थायी आवास र अन्य अत्यावश्यक सामग्री वितरण भइरहेको जनाइएको छ।
भूकम्पका कारण ठूलो मात्रामा भौतिक संरचनामा पनि क्षति पुगेको छ। हालसम्म ८८५ वटा भवनमा क्षति पुगेको पुष्टि भएको छ भने १८९ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। क्षतिको विवरण सङ्कलन गर्ने काम अझै जारी रहेकाले भवन क्षतिको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
विस्थापित भएका नागरिकको व्यवस्थापनका लागि सरकारले देशका विभिन्न प्रभावित क्षेत्रमा ५९ वटा अस्थायी शिविर सञ्चालनमा ल्याएको छ। ती शिविरमा हजारौँ परिवारलाई सुरक्षित आवास, स्वास्थ्य सेवा, खाद्यान्न तथा अन्य आधारभूत सुविधा उपलब्ध गराइँदै आएको छ।
सरकारले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग पनि सहकार्य गरिरहेको जनाएको छ। आपतकालीन अवस्थाको सामना गर्न विभिन्न देशबाट आएका तीन हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। साथै २९ हजार ५६७ जना आपतकालीन सेवाका कर्मचारी, सुरक्षा निकाय र स्वयंसेवक उद्धार, राहत वितरण तथा खोजी कार्यमा खटिएका छन्।
भूकम्पपछि केही क्षेत्रमा परकम्पको जोखिम कायम रहेकाले प्रभावित नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन निरन्तर प्रयास भइरहेको जनाएको छ।