काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। लगातार दुई दिन सकारात्मक देखिएको शेयर बजार शुक्रबार भने उतारचढावका बीच ८ अंकले ओरालो लाग्दै २ हजार ६५३ विन्दुमा पुगेको हो।
बजार परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३४५ वटा स्टकका ८५ लाख ८४ हजारभन्दा बढी कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, वित्त, लघुवित्त, जलविद्युत् र व्यापार समूह सामान्य अंकले बढेका छन्। बाँकी सबै उपसमूह भने राताम्मे भएका छन्, जसले समग्र बजारलाई नकारात्मक दिशातर्फ धकेलेको हो।
कारोबारका क्रममा १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ। केही कम्पनीका शेयरमा भने उल्लेखनीय वृद्धि देखिएको छ। सानिगाड हाइड्रोपावर, स्नो रिभर्स, कालंगा हाइड्रोपावर र नेपाल फाइनान्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलसम्म पुगेको छ।
यता, बजार घटेका दिन पनि केही कम्पनीका लगानीकर्ताले ठूलो घाटा बेहोर्नुपरेको छ। नेप्सेका अनुसार अप्पर लोयर खेलाको शेयर मूल्य सबैभन्दा धेरै करिब १३ प्रतिशतले घटेको छ भने धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ११ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
बजार विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा लगानीकर्ताबीच नाफा सुरक्षित गर्ने प्रवृत्ति, सीमित खरीद चाप तथा क्षेत्रगत मिश्रित प्रदर्शनका कारण नेप्सेमा सामान्य गिरावट देखिएको हो। यद्यपि कारोबार रकम बढेकाले बजारमा लगानीकर्ताको सक्रियता भने कायम रहेको संकेत मिलेको छ।