काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछाने मार्फत नवनिर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।
रास्वपाको प्रथम महाधिवेशन यही असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट पार्टीका ६ पदाधिकारीसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
शपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले पार्टीको चुनाव चिह्न घण्टीसहित मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
महाधिवेशनबाट सभापतिमा लामिछाने निर्विरोध निर्वाचित हुनुभएको थियो । पार्टीले नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै संगठन विस्तार र आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने तयारी गरेको जनाएको छ ।
यसैबीच, रास्वपाले बुधबार नै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । बैठकमा पार्टीको आगामी कार्यदिशा, संगठन विस्तार तथा महाधिवेशनबाट निर्वाचित संरचनालाई प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ ।
बैठकले केन्द्रीय समितिमा मनोनित गरिने ५१ जना सदस्यको विषयमा समेत छलफल गर्ने रास्वपाले जनाएको छ । पार्टी विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रिया अघि बढाउने तयारी गरिएको हो ।
नयाँ नेतृत्व चयनसँगै रास्वपाले आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ ।