काठमाडौं । अध्यागमन विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको संयुक्त निगरानीका क्रममा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
विभागका अनुसार ललितपुरको धोवीघाट र काठमाडौंको चोभार क्षेत्रमा गरिएको निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । धोवीघाट क्षेत्रबाट ३ जना र चोभार क्षेत्रबाट ६ जना चिनियाँ नागरिक नियन्त्रणमा परेको विभागले जनाएको छ ।
निगरानीका क्रममा उनीहरूको साथबाट १८ वटा राहदानीसमेत बरामद गरिएको छ । बरामद भएका राहदानी, उनीहरूको नेपाल बसाइको अवस्था तथा गतिविधिबारे विभागले अनुसन्धान सुरु गरेको जनाएको छ ।
अध्यागमन विभागका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू नेपालमा वैधानिक रूपमा बसोबास गरिरहेका छन् वा छैनन्, उनीहरूको भिसाको अवस्था, राहदानी प्रयोगसम्बन्धी विषय तथा अन्य कानुनी पक्षबारे विस्तृत छानबिन भइरहेको छ ।
विभागले प्रारम्भिक अनुसन्धानपछि प्रचलित अध्यागमन कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
पछिल्लो समय अध्यागमन विभागले विदेशी नागरिकको बसोबास, भिसा अवस्था र कानुनी गतिविधि अनुगमन गर्न विभिन्न स्थानमा निगरानी तथा छड्के जाँचलाई तीव्र बनाउँदै आएको छ ।