काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जंगल सफारी सेवा आजदेखि बन्द गरिएको छ । वर्षाको समयमा पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै निकुञ्ज प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सफारी सेवा रोक्ने निर्णय गरेको हो ।
निकुञ्ज प्रशासनका अनुसार मनसुनको समयमा अत्यधिक वर्षाका कारण निकुञ्जभित्रका बाटोहरूमा भलबाढी आउने, हिलो हुने, रुख ढलेर बाटो अवरुद्ध हुने तथा वन क्षेत्रमा आवतजावत गर्न कठिनाइ हुने भएकाले सफारी बन्द गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगर का अनुसार वर्षाको समयमा पर्यटकलाई असहज हुने अवस्था सिर्जना हुने भएकाले सुरक्षाका दृष्टिले सफारी सेवा स्थगित गरिएको हो । उनले अर्को सूचना जारी नभएसम्म निकुञ्जभित्र जंगल सफारी सञ्चालन नहुने जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जले प्रत्येक वर्ष मनसुनको समयमा जंगल सफारी बन्द गर्दै आएको छ । वर्षात्का कारण वन क्षेत्रका सडक तथा कच्ची बाटो बिग्रने, खोलानाला बढ्ने र वन्यजन्तु अवलोकनका लागि जाने पर्यटकलाई जोखिम हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो ।
निकुञ्ज प्रशासनले वर्षात्को अवस्था, बाटोको अवस्था र मौसम अनुकूलताका आधारमा सफारी पुनः सञ्चालन गर्ने जनाएको छ । विगतका वर्षहरूमा पनि दसैँ आसपासको समयदेखि निकुञ्जभित्रको सफारी सेवा पुनः सञ्चालन गर्ने परम्परा रहँदै आएको छ ।
सफारी बन्द भएपछि चितवन भ्रमण गर्ने पर्यटक तथा पर्यटन व्यवसायीहरू प्रभावित हुने भए पनि वन्यजन्तु संरक्षण र पर्यटक सुरक्षाका लागि यो निर्णय आवश्यक रहेको निकुञ्ज प्रशासनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, जहाँ विशेषगरी एकसिंगे गैँडा, बाघ, हात्ती, घडियाल गोहीलगायत वन्यजन्तु अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् ।