काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन सोमबार देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यस अवसरमा किसानहरू खेतमा पुगेर रोपाइँ गर्दै तथा दही चिउरा खाएर असार १५ मनाइरहेका छन् ।
कामको चटारो र खेतीपातीको व्यस्तताले थकित भएका किसानले शरीरमा ऊर्जा प्राप्त गर्न दही चिउरा खाने परम्परा रहेको छ । गर्मी मौसम र हिलोमा लामो समय काम गर्नुपर्ने भएकाले दही चिउराले शरीरलाई शीतलता दिने र शक्ति प्रदान गर्ने जनविश्वास छ ।
नेपाली समाजमा असार १५ लाई परम्परागत रूपमा दही चिउरा खाने पर्व का रूपमा पनि लिइन्छ । खेतीपातीमा संलग्न किसान मात्र नभई अन्य पेशा तथा व्यवसायमा रहेका नेपालीहरूले समेत यस दिन दही चिउरा खाएर असार १५ मनाउने गरेका छन् ।
सरकारले विसं २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो । कृषिप्रधान देश नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले यस दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
धान दिवसका अवसरमा किसानहरू असारे भाकामा लोकदोहोरी गाउँदै, हिलोमा रमाउँदै धान रोप्ने गर्दछन् । नेपाली समाजमा असार महिनामा कम्तीमा एकपटक हिलोमा पस्नुपर्ने सांस्कृतिक मान्यता समेत रहँदै आएको छ ।
तर यस वर्ष असार मध्यसम्म पनि देशका धेरै स्थानमा अपेक्षित वर्षा नभएका कारण रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपर्दा कतिपय क्षेत्रमा किसानले धान रोप्न सकेका छैनन् भने केही स्थानमा सिँचाइको समस्या समेत देखिएको छ ।
यसैगरी, केही क्षेत्रमा रासायनिक मलको अभावका कारण किसान समस्यामा परेको गुनासो पनि आएको छ । तर कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने देशभरका लागि आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ ।
कृषि विज्ञहरूले समयमै वर्षा, मल तथा बीउको उपलब्धता सुनिश्चित गर्न सके मात्र धान उत्पादन बढाउन सकिने बताएका छन् । धान दिवसले किसानको मेहनत, कृषि संस्कृतिको संरक्षण र खाद्य सुरक्षाको महत्वलाई उजागर गर्ने अवसरका रूपमा लिइँदै आएको छ ।