धनगढी । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटल तथा लजहरूमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै २४ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्राप्त सूचनाको आधारमा विभिन्न होटल तथा लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न भएको आशंकामा ११ जना महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये सात जना भारतीय नागरिक पुरुष रहेका छन्। प्रहरीले होटल तथा लजहरूमा भइरहेको गतिविधिबारे थप जानकारी संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई प्रहरी हिरासतमा राखिएको छ। घटनाको वास्तविक अवस्था, संलग्नता र कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बजार क्षेत्रका होटल, लज तथा अन्य संवेदनशील स्थानहरूमा नियमित निगरानी तथा चेकजाँच भइरहेको जनाएको छ। प्रहरीले सामाजिक विकृति तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने बताएको छ।
स्थानीय बासिन्दाले पनि बजार क्षेत्रका होटल तथा लजहरूमा हुने गतिविधिमाथि नियमित अनुगमन आवश्यक रहेको बताउँदै आएका छन्। प्रहरीले कुनै पनि गैरकानुनी गतिविधि भएको जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन आग्रह गरेको छ।