सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ नरहचोक नजिक आज भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको दुर्घटनामा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चिमडीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
मोटरसाइकलको पछाडि सवार यादवकी श्रीमती ४७ वर्षीया रामपरी यादव घाइते हुनुभएको छ। उहाँको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उहाँको पनि विराट नर्सिङ होममै उपचार भइरहेको छ।
प्रहरीका अनुसार यादव जिल्ला प्रहरी कार्यालय बाराबाट जिल्ला प्रहरी कार्यालय सिरहाका लागि रवाना लिएर जाँदै हुनुहुन्थ्यो।
दुर्घटनामा संलग्न कार र चालक मोरङ कटहरी गाउँपालिका–३ का ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।