किमाथाङ्का । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाका विभिन्न स्थानमा जनधनको जोखिम बढेको छ। पहिरोका कारण खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् भने खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार शनिबार आएको पहिरोले सभापोखरी गाउँपालिका–१ धुपुका दुई परिवारलाई घर छाड्न बाध्य बनाएको छ। पहिरोका कारण धनबहादुर विश्वकर्माको चार सदस्यीय परिवार र शान्तिराम पोखरेलको चार सदस्यीय परिवार विस्थापित भएका हुन्।
प्रहरीका अनुसार धनबहादुर विश्वकर्माको दुईतले घरको पछाडिको भाग पहिरोले भत्काएको छ। त्यस्तै, शान्तिराम पोखरेलको घर पनि उच्च जोखिममा परेपछि थप क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै दुवै परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।
यस्तै, खाँदबारी नगरपालिका–६ खानीडाँडामा पनि पहिरोको जोखिम बढेपछि यारबहादुर तामाङको ६ सदस्यीय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहको समन्वयमा जोखिममा रहेका परिवारहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राखिएको जनाइएको छ।
हाल विस्थापित परिवारहरू छिमेकी तथा आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। प्रभावित परिवारहरूको अवस्था तथा थप जोखिमको मूल्याङ्कन गर्न स्थानीय प्रशासनले अनुगमन जारी राखेको छ।
पहिरोले मानव बस्ती मात्र नभई कृषियोग्य जमिनमा पनि ठूलो क्षति पुर्याएको छ। सभापोखरी–१ धुपुका राजन राई, कर्ण राई तथा अम्बर राईको धान रोपाइँको तयारी भइरहेको खेत पहिरोले कटान तथा पुरेको प्रहरीले जनाएको छ। यसले कृषकहरूको उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिएको छ।
वर्षा निरन्तर भइरहेकाले थप पहिरो जाने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग सम्पर्कमा रहन अनुरोध गरिएको छ।
धुपु प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले प्रभावित क्षेत्रको निगरानी गर्नुका साथै जोखिममा रहेका अन्य परिवारलाई समेत सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेको जनाएको छ। प्रशासनले मौसमको अवस्थालाई निरन्तर निगरानीमा राख्दै सम्भावित विपद्का लागि तयारी अवस्थामा रहेको जनाएको छ।