काठमाडाैं । कैलालीका विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग बालबालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा र संरक्षणलाई प्राथमिकता दिन माग गरेका छन् । विशेषगरी विपन्न, अभिभावकविहीन तथा जोखिममा रहेका बालबालिकाका लागि लक्षित कार्यक्रम ल्याउन उनीहरूले आग्रह गरेका हुन् ।
भजनीमा आयोजित एक कार्यक्रममा सहभागी बालबालिकाले विद्यालयमा आधारभूत सुविधा अभाव, बालविवाह, बालहिंसा, साइबर जोखिम तथा शिक्षा पहुँचका समस्याबारे खुला रूपमा आफ्ना धारणा राखेका थिए । उनीहरूले स्थानीय सरकारले बालबालिकाका सवाललाई प्राथमिकतामा राख्दै प्रभावकारी योजना र बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
बालिका बिनिता चौधरीले बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारमा स्थानीय तहले विशेष योजना ल्याउनुपर्ने बताइन् । उनले बालविवाह, बालश्रम तथा बालहिंसा रोकथामका लागि नीति तथा कार्यक्रममै स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरिन् । “बालबालिकाको भविष्य सुरक्षित बनाउन शिक्षा र स्वास्थ्यमा लगानी अत्यावश्यक छ,” उनले भनिन् ।
अर्की बालिका निर्मला विकले बालिका बलात्कार तथा यौनजन्य हिंसाको जोखिम बढ्दै गएको भन्दै बालबालिकाको सुरक्षामा पालिकाले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले जोखिममा रहेका बालबालिकाको संरक्षण, परामर्श तथा सुरक्षित वातावरण निर्माणमा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने धारणा राखिन् ।
बालिका किरण लोनियाले विद्यालयमा पुस्तकालय, खेलमैदान, कला तथा संस्कृति संरक्षण र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्न माग गरिन् । उनले मुस्लिम समुदायमा अझै पनि बालविवाहको समस्या रहेको भन्दै धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको गुनासो गरिन् ।
“बालविवाहका कारण धेरै बालिका कम उमेरमै आमा बन्न बाध्य छन्,” उनले भनिन्, “समुदायमा सचेतना फैलाउन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आवश्यक छ ।”
कैलारी गाउँपालिकाका दिपु चौधरीले अपाङ्गता भएका बालबालिकाका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले योजना छनोट तथा बस्तीस्तरका भेलामा बालबालिकाको सहभागिता सुनिश्चित गर्न आग्रह गरे । विद्यालयमा खानेपानी, सरसफाइ तथा व्यवस्थित शौचालयको अभावले अध्ययनमा समस्या भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी अन्य बालबालिकाले अनलाइन दुव्र्यवहार र साइबर जोखिम बढ्दै गएको भन्दै सुरक्षित इन्टरनेट प्रयोगबारे जनचेतना फैलाउन माग गरेका थिए । साथै महिनावारी व्यवस्थापनलाई सहज बनाउन प्रत्येक विद्यालयमा महिला सम्पर्क शिक्षकको व्यवस्था गर्नुपर्ने उनीहरूको माग थियो ।
बालबालिकाले गर्मी मौसममा विद्यालयमा पर्याप्त पङ्खा नहुँदा अध्ययनमा कठिनाइ भएको, फोहोर शौचालयका कारण संक्रमणको जोखिम बढेको तथा समुदायमा अझै छाउपडी प्रथा कायम रहेकाले पठनपाठन प्रभावित भइरहेको गुनासो गरेका थिए ।
उक्त कार्यक्रम वल्ड भिजन इन्टरनेशनल नेपाल र बालकल्याण सङ्घ टीकापुरको आयोजनामा “बाल समृद्धिका लागि हातेमालो तथा एकीकृत विकास कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको हो । कार्यक्रममा भजनी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रिजु चौधरीले बालविवाह, लागूऔषध दुर्व्यसन, विद्यालय छोड्ने दर तथा बालबालिकामा आत्महत्याका घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाले मुस्लिम समुदायमा बालविवाह न्यूनीकरण गर्न परिवार नियोजन कार्यक्रममा सहभागी हुने महिलालाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “पहिलो वर्ष तीनजना मात्रै सहभागी भएकामा दोस्रो वर्ष २६ महिलाले सम्पर्क गरेका छन्,” उनले भने, “यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहनेछ ।”
उनले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित परिणाम प्राप्त नभएकाले अब रणनीति परिवर्तन गरेर काम गरिने बताए ।
नगरप्रमुख केवल चौधरीले बालबालिकाले उठाएका समस्या गम्भीरतापूर्वक लिइएको बताउँदै शिक्षा शाखासँग समन्वय गरी विद्यालयका समस्या समाधान गर्न पहल गरिने आश्वासन दिए ।
बालकल्याण सङ्घका संरक्षण अधिकृत इन्द्रराज जोशीले जोखिममा रहेका बालबालिकाको सुरक्षा, संरक्षण तथा शिक्षामा पहुँच वृद्धि गर्न परियोजनाले निरन्तर काम गरिरहेको जानकारी दिए । उनले बालविवाह, बालश्रम, हिंसा तथा दुव्र्यवहारविरुद्ध अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले अति विपन्न तथा अभिभावकविहीन बालबालिकाका लागि स्वास्थ्य परीक्षण, क्षमता विकास तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् । उनले बालबालिकालाई टोलस्तरका भेलामा सहभागी भई आफ्ना योजना प्रस्तुत गर्न आग्रह गरिएको बताइन् ।
कैलारी–८ का वडाध्यक्ष तारामल कठरियाले बालबालिकाका माग सम्बोधन गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै बालविवाह तथा लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिने बताए ।
वडासदस्य लक्ष्मी चौधरीले पहिलो पटक बालबालिकाका यति धेरै माग प्रत्यक्ष सुन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।