काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको निगरानी तथा कारबाहीलाई तीव्र बनाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेका १ हजार ९ सय ९४ जना सवारीचालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा ५ लाख ४१ हजार ५ सय २ रुपैयाँ राजस्व सङ्कलन भएको छ। सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले नियमित रूपमा अनुगमन र कारबाही अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।
कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ सय २७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १ सय ४२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १ सय ४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १ सय ३ जना रहेका छन्।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १ सय ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ३० जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १ सय २८ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ९५ जना चालकलाई पनि कारबाही गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ९ सय ६२ जना चालकसमेत कारबाहीको दायरामा परेका छन्। राजधानीमा बढ्दो सवारी चाप, दुर्घटना जोखिम तथा अव्यवस्थित पार्किङ नियन्त्रण गर्न ट्राफिक प्रहरीले नियमित रूपमा चेकिङ र निगरानी अभियान सञ्चालन गरिरहेको जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, निर्धारित गति सीमाभित्र रहेर यात्रा गर्न तथा लेन अनुशासन कायम गर्न आग्रह गरेको छ। ट्राफिक नियमको पालना गरे दुर्घटना न्यूनीकरण हुनुका साथै सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ।