काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार साताका प्रत्येक दिन कुनै न कुनै देवी–देवताको आराधनासँग सम्बन्धित मानिन्छ। आइतबार विशेष रूपमा सूर्य देवको पूजा र उपासना गर्ने दिन का रूपमा परिचित छ। हिन्दू परम्परामा सूर्यलाई प्रत्यक्ष रूपमा देख्न सकिने देवता मानिन्छ, जसले संसारलाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्छन्।
धार्मिक मान्यताअनुसार आइतबार सूर्य देवको विधिपूर्वक पूजा–आराधना गरेमा व्यक्तिको जीवनमा सकारात्मक ऊर्जा, आत्मविश्वास तथा सम्मान प्राप्त हुने विश्वास गरिन्छ। ज्योतिषशास्त्रमा सूर्यलाई ग्रहहरूको राजा मानिन्छ। जन्मकुण्डलीमा सूर्य कमजोर भएमा आत्मबल घट्ने, प्रतिष्ठामा असर पर्ने तथा विभिन्न अवरोधहरू सामना गर्नुपर्ने विश्वास गरिन्छ। यस्ता दोष हटाउन सूर्य देवको पूजा लाभदायक मानिएको छ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार बिहान ब्रह्ममुहूर्तमा उठी स्नान गरेर स्वच्छ वस्त्र धारण गर्नुपर्छ। त्यसपछि नजिकको मन्दिरमा गई भगवानको दर्शन गर्ने वा घरमै सूर्य देवको पूजा गर्न सकिन्छ। सूर्योदयको समयमा पूर्व दिशातर्फ फर्किएर तामाको लोटामा जल, रातो फूल तथा अक्षता राखी सूर्यलाई अर्घ्य अर्पण गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास छ।
पूजाका क्रममा सूर्य देवलाई मनपर्ने सामग्री अर्पण गर्ने परम्परा रहेको छ। रातो फूल, रातो चन्दन, गुडहलको फूल, चामल, गुड तथा गुडबाट बनेका मिठाईहरू चढाउँदा सूर्य देव प्रसन्न हुने धार्मिक विश्वास छ। साथै ‘ॐ घृणिः सूर्याय नमः’ मन्त्रको जप गर्दा सूर्यको कृपा प्राप्त हुने र कुण्डलीमा रहेका सूर्यसम्बन्धी दोषहरू कम हुने मान्यता रहेको छ।
धार्मिक ग्रन्थहरूका अनुसार सूर्य देवको नियमित पूजा गर्ने व्यक्तिले समाजमा आदर, सम्मान र प्रतिष्ठा प्राप्त गर्ने विश्वास गरिन्छ। साथै स्वास्थ्य, आत्मबल, नेतृत्व क्षमता र कार्यक्षेत्रमा सफलता प्राप्त हुने धार्मिक मान्यता पनि रहेको छ।
हिन्दू संस्कृतिमा सूर्यलाई जीवनको आधार मानिने भएकाले आइतबारको दिन सूर्य देवको स्मरण, पूजा तथा अर्घ्यदानलाई अत्यन्त शुभ कार्यका रूपमा लिइन्छ। श्रद्धा र विश्वासका साथ सूर्य देवको आराधना गर्दा मनोकामना पूरा हुने र जीवनमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।