काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिग अन्तर्गत आज पहिलो सेमिफाइनल चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने खेलप्रति नेपाली खेलप्रेमीको विशेष चासो रहेको छ ।
आज साँझ ५ बजेदेखि हुने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले इरानको सामना गर्नेछ । समूह चरणमा उतारचढावपूर्ण प्रदर्शन गरेको नेपाल उत्कृष्ट पुनरागमनसहित अन्तिम चारमा पुगेको हो ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा हार बेहोरेको थियो । तर त्यसपछि नेपाली टोलीले शानदार खेल प्रदर्शन गर्दै लगातार दुई जित निकालेको थियो । नेपालले दोस्रो खेलमा किर्गिस्तानलाई तथा समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
घरेलु समर्थकको साथ र पछिल्ला खेलको आत्मविश्वासका कारण नेपाल आज इरानविरुद्ध जित निकाल्दै फाइनल यात्रा तय गर्ने लक्ष्यमा रहेको छ । नेपाली टोलीका प्रशिक्षक र खेलाडीहरूले पनि निर्णायक खेलका लागि विशेष तयारी गरिएको बताएका छन् ।
यता आजै दिउँसो साढे २ बजेदेखि हुने पहिलो सेमिफाइनलमा बलियो टोली भारत र कजाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली उपाधि दाबेदार मानिएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको फाइनलमा पुग्न चारवटै टोलीले आज निर्णायक भिडन्त खेल्दैछन् । नेपाली समर्थकहरू भने घरेलु टोली नेपालले ऐतिहासिक सफलता हात पार्ने आशामा उत्साहित देखिएका छन् ।