काठमाडौं । समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित एमआरआरद्वारा कास्की जिल्लाको मादी गाउँपालिका–११, सैमराङमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा अभाव भइरहेका बेला आयोजित उक्त शिविरबाट स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
शिविरमा विभिन्न रोगसम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको आयोजकले जनाएको छ । स्थानीय नागरिकहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गराउन पाउँदा खुसी व्यक्त गरेका थिए । विशेषगरी ग्रामीण भेगका ज्येष्ठ नागरिक, महिला तथा आर्थिक रूपमा विपन्न समुदायका व्यक्तिहरू शिविरबाट बढी लाभान्वित भएको बताइएको छ ।
कार्यक्रम सञ्चालनका क्रममा प्राविधिक सहयोग उपलब्ध गराएको शाही क्लिनिक एण्ड प्याथोलोजी सर्भिसप्रति एमआरआरले विशेष आभार व्यक्त गरेको छ । त्यसैगरी औषधि सौजन्य उपलब्ध गराउने स्टार मेडिको फार्मा तथा रिभान फार्मेसीको योगदानलाई पनि संस्थाले महत्वपूर्ण सहयोगका रूपमा उल्लेख गरेको छ ।
एमआरआरले शिविर सफल बनाउन स्थानीय तहको सहयोग पनि महत्वपूर्ण रहेको जनाएको छ । कार्यक्रमका लागि स्थान व्यवस्थापन तथा आवश्यक समन्वयमा सहयोग पुर्याएको मादी गाउँपालिका वडा नं. ११प्रति धन्यवाद व्यक्त गरिएको छ ।
शिविरमा फिजिसियन डाक्टर शरदचन्द्र बरालसहितको मेडिकल टिमले स्वास्थ्य सेवा प्रदान गरेको थियो । साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण एमआरआर परिवार, स्वयंसेवक तथा सहयोगीप्रति संस्थाले आभार प्रकट गरेको छ ।
एमआरआरले आगामी दिनमा पनि दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । संस्थाका अनुसार समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाउने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ ।