काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको वर्तमान अवस्था, राष्ट्रिय सुरक्षाको समसामयिक परिवेश तथा संस्थागत विकासका विविध विषयमा गहन छलफल गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार कार्यक्रममा सहभागी अवकाश प्राप्त रथीहरूले आफ्नो लामो सैनिक अनुभवका आधारमा राष्ट्रिय सुरक्षा, संगठनको सुदृढीकरण तथा सैनिक कल्याणसम्बन्धी विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए । सेनाले स्थापनाकालदेखि राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय हितको संरक्षणका लागि निर्वाह गर्दै आएको भूमिकाको समीक्षा गर्दै भविष्यका चुनौती र अवसरबारे समेत अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देल ले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण, प्रविधिमैत्री क्षमता विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिका लागि अग्रज नेतृत्वको अनुभव, मार्गदर्शन र प्रेरणा अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए । उनले राष्ट्र र संस्थाप्रति समर्पित भई योगदान पुर्याएका अवकाश प्राप्त रथीहरूको भूमिकाप्रति उच्च सम्मान व्यक्त गर्दै नेपाली सेनाले संस्थागत सुधार र व्यावसायिक विकासलाई निरन्तर प्राथमिकतामा राखेको उल्लेख गरे ।
प्रधान सेनापति सिग्देलले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा परिवेशलाई ध्यानमा राख्दै नेपाली सेनाले आफ्नो क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, शान्ति स्थापना कार्य तथा राष्ट्रिय विकास निर्माणका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको पनि बताएका थिए । उनले सैनिक संगठनलाई अझ आधुनिक, सक्षम र जनविश्वासयुक्त संस्थाका रूपमा विकास गर्न अनुभवी अग्रजहरूको सुझाव महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
अन्तरक्रियामा सहभागी अवकाश प्राप्त रथीहरूले नेपाली सेनाले राष्ट्रको संकटका बेला निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै संगठनको व्यावसायिकता, अनुशासन तथा राष्ट्रिय एकताको भावनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले सैनिक कल्याण, पूर्वसैनिकहरूको हित संरक्षण तथा भावी पुस्तामा राष्ट्रिय सेवाको भावना विकास गर्न आवश्यक रहेको धारणा पनि राखेका थिए ।
नेपाली सेनाले यस्ता कार्यक्रमले सेवारत तथा अवकाश प्राप्त सैनिक अधिकारीहरूबीच आपसी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै संस्थागत अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने जनाएको छ । साथै, प्राप्त सुझाव र अनुभवले राष्ट्रिय दायित्वलाई अझ प्रभावकारी ढंगले आत्मसात् गर्दै समग्र राष्ट्रिय हितको संरक्षणमा योगदान पुर्याउने विश्वास पनि व्यक्त गरिएको छ ।