काठमाडौं । केन्द्रीय कारागार सुन्धारा बाट एक महिला कैदी फरार भएकी छन्। महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान कारागारको पर्खाल नाघेर फरार भएकी हुन्।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रवीण धिताल का अनुसार शुक्रबार बिहान करिब साढे १ बजे तामाङ कम्पाउन्डको पर्खाल नाघेर भागेकी हुन्। घटनापछि कारागार प्रशासन र प्रहरी उच्च सतर्कतामा पुगेका छन् भने फरार कैदीको खोजी तीव्र पारिएको छ।
प्रहरीका अनुसार सपना तामाङलाई अदालतले शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय सुनाएको थियो। प्रारम्भिक अनुसन्धानमा उनले झ्यालबाट चढेर पर्खाल नाघ्दै फरार भएको देखिएको कारागार स्रोतले जनाएको छ।
घटनापछि कारागारभित्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। प्रहरी र कारागार प्रशासनले घटनासम्बन्धी सिसिटिभी फुटेज अध्ययन गर्नुका साथै ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि पनि छानबिन थालेका छन्।
फरार कैदीको खोजीका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।