काठमाडौं । राष्ट्रप्रेम र सामाजिक उत्तरदायित्वलाई जोड दिँदै नवल खड्का ले आफ्नो कृति र चलचित्रबाट आर्जित आम्दानीको आधा हिस्सा देशको सिमा सुरक्षाका लागि अर्पण गर्ने घोषणा गरेका छन्।
उनले आफ्नो नाममा प्रकाशित ‘नवल खड्का’ पुस्तक तथा निर्माण/अभिनय संलग्नता रहेका भिमदत्त र काँडेतार चलचित्रबाट प्राप्त मुनाफाको ५० प्रतिशत रकम सिमा सुरक्षामा खर्च गर्ने प्रतिबद्धता जनाएका हुन्।
खड्काले देशको सिमा सुरक्षा मजबुत बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै आफ्नो सिर्जनात्मक कार्यबाट प्राप्त उपलब्धिलाई राष्ट्रिय हितमा प्रयोग गर्न चाहेको बताए। “कला केवल मनोरञ्जन मात्र होइन, राष्ट्रप्रति जिम्मेवारी पनि हो,” उनले भने।
उनका अनुसार सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्न, आवश्यक सामग्री उपलब्ध गराउन तथा सिमा क्षेत्रमा रहेका पूर्वाधार सुधारमा सहयोग पुग्ने गरी उक्त रकम प्रयोग गरिनेछ।
यो कदमलाई राष्ट्रप्रेम, सामाजिक उत्तरदायित्व र सिर्जनात्मक क्षेत्रको सकारात्मक उपयोगको उदाहरणका रूपमा हेरिएको छ। पछिल्लो समय नेपाली चलचित्र र साहित्य क्षेत्रबाट सामाजिक कार्यमा योगदान गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा खड्काको घोषणा अर्थपूर्ण मानिएको छ।
“भिमदत्त’ र ‘काँडेतार’ जस्ता चलचित्रहरूले राष्ट्रियता, सिमा सुरक्षा र देशप्रेमको विषयलाई उठाउँदै दर्शकमाझ प्रभाव छोडेका छन् भने ‘नवल खड्का’ पुस्तकले पनि देशप्रेमी भावनालाई झल्काउने विषयवस्तु समेटेको बताइएको छ।
सृजनात्मक क्षेत्रबाट प्राप्त आम्दानीलाई राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने घोषणा नेपाली समाजमा सकारात्मक सन्देश दिने कदमका रूपमा हेरिएको छ। यसले अन्य कलाकार र सर्जकलाई पनि सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।