नवलपरासी । लगातार वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने उकालोमा हिलो र चिप्लोपन बढेपछि सवारीसाधन फसेर आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक अत्यन्तै चिप्लो बनेपछि सवारी गुड्न नसक्ने अवस्था सिर्जना भएको हो ।
“बुधबार दिउँसोदेखि निरन्तर सिमसिम वर्षा भइरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिएर गुड्न समस्या भएको छ,” उनले भने, “हिलोमा सवारी फस्दा लामो जाम लागेको छ ।”
स्थिति नियन्त्रणका लागि मालवाहक सवारीसाधनलाई अरुणखोला क्षेत्रमा नै रोकिएको प्रहरीले जनाएको छ ।
नारायणगढ–बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा ‘ग्राभेल’ हालेर सडक मर्मतको प्रयास भइरहेको जनाएको छ । तर, सडक विस्तार कार्य सम्पन्न नभएकाले सामान्य वर्षामा समेत यो खण्डमा पटक–पटक समस्या देखिने गरेको छ ।
यातायात प्रभावित हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।