काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार साँझ चक्कु प्रहारबाट दुई दाजुभाइको ज्यान गएको छ ।
प्रहरीका अनुसार ३३ वर्षीय सुमित नेम्बाङ र २६ वर्षीय उनका भाइ सिर्जन नेम्बाङको हत्या भएको हो ।
प्रारम्भिक अनुसन्धान अनुसार, अननाउन नम्बरबाट आएको फोनमा भनाभन भएपछि विवाद चर्किएको थियो । सोही क्रममा आरोपित सञ्जीव नेपालीले दाजुभाइलाई पाटन बोलाएका थिए । इमाडोल निवासी दुवै जना त्यहाँ पुगेपछि झगडा भएको र त्यसपछि सञ्जीवले मासु काट्ने धारिलो हतियार प्रयोग गरी चक्कु प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।