काठमाडौं — नेपाल पत्रकार महासंघ का पूर्वसभापति किशोर नेपाल ले महासंघलाई कुनै पनि राजनीतिक दलको शाखा वा प्रचार विभागको रूपमा प्रयोग नगर्न कडा आग्रह गरेका छन्।
महासंघको स्थापना र विकासमा महत्वपूर्ण भूमिका खेलेका नेपालले पछिल्लो समय पत्रकारितामा बढ्दो राजनीतिकरण र घट्दो गुणस्तरप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले महासंघभित्र वैचारिक विविधता हुनु स्वाभाविक भए पनि पछिल्ला दिनहरूमा संस्था विभिन्न राजनीतिक दल र गुटहरूको अङ्गजस्तो बन्न थालेको भन्दै असन्तुष्टि जनाए।
उनले स्पष्ट शब्दमा भने— पत्रकारिता स्वतन्त्र रहनुपर्छ, कुनै पनि हालतमा राजनीतिले पत्रकारितालाई ‘डोमिनेट’ गर्न नहुने उनको धारणा छ। “हामी स्वतन्त्रताको कुरा गर्छौं, तर व्यवहारमा स्वतन्त्र छैनौं,” उनले भने, “पत्रकारमुखी भन्दा राजनीतिमुखी कार्यक्रमहरू बढिरहेका छन्, यसमा सबै सजग हुन जरुरी छ।”
पूर्वसभापति नेपालले पत्रकारिताले राजनीतिलाई मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिँदै, उल्टो अवस्था देखिनु दुःखद भएको बताए।
सामाजिक सञ्जालको तीव्र विस्तारसँगै पत्रकारिताको शैली र कार्यप्रणालीलाई पुनरावलोकन (review) र संशोधन (revision) गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले पत्रकारहरूको क्षमता अभिवृद्धि, वृत्ति विकास तथा छात्रवृत्तिमा महासंघले प्राथमिकता दिनुपर्ने सुझाव समेत दिएका छन्।
उनको भनाइले अहिलेको नेपाली पत्रकारिताको दिशा, विश्वसनीयता र स्वतन्त्रताबारे गम्भीर बहसको आवश्यकता रहेको संकेत गरेको छ।