काठमाडौं — गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलन का क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ। प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु भएसँगै सम्बन्धित निकायहरू सक्रिय भएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा तयार पारिएको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो। सो निर्णयअनुसार प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयमा पठाइएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमार्फत अन्ततः जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रतिवेदन आइपुगेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार प्रतिवेदन प्राप्त भइसकेको छ र अब कार्यान्वयनको चरणमा प्रवेश गरिनेछ। “प्रतिवेदन हामीकहाँ आइपुगेको छ, अब त्यसअनुसार अगाडि बढ्छौं,” उनले बताए।
यसैबीच, प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अन्य सुरक्षा निकायसँग सम्बन्धित व्यक्तिहरूमाथि भने थप छानबिनपछि मात्र कारबाही गरिने जनाइएको छ। जनेजी आन्दोलनका क्रममा भएको हत्या घटनामा संलग्न रहेको निष्कर्षसहित कार्की आयोगले ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो।
यस घटनाले नेपाली राजनीतिक वृत्तमा पुनः तरंग ल्याएको छ भने आगामी दिनमा कानुनी प्रक्रिया र अनुसन्धान परिणाममाथि सबैको ध्यान केन्द्रित रहेको छ।