काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावका कारण कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बदली रहनेछ भने तराई तथा अन्य भू–भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । तर, पहाडी र हिमाली क्षेत्रमा भने मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने बताइएको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसमको प्रभाव बढी देखिनेछ । ती क्षेत्रहरूमा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज राति पनि देशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।