काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युद्ध प्रभावित मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ।
संघका अध्यक्ष डा. हेमराज शर्मा का अनुसार, संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम एक करोड रुपैयाँ संकलन गरी, सो विशेष टास्क फोर्सको योजनाअनुसार मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गरिनेछ। हाल संघमा करिब एक लाख ३० हजार सदस्य रहेका छन्, र प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ।
डा. शर्मा भन्छन्, “मध्यपूर्वमा जाने गैरआवासीय नेपाली नागरिकको लागि हामीले एक करोड रुपैयाँको कोष स्थापना गरेका छौँ र आजै फण्ड रिलिज पनि गरेका छौँ। संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यबाट कम्तीमा पनि एक करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ। अहिले युद्धका कारण मध्यपूर्वमा रहेका नेपालीलाई कसरी सहयोग गर्ने भन्ने विषयमा हामीले एउटा टास्क फोर्स बनाएका छौँ। उक्त टास्क फोर्सले योजना तयार गरेपछि आवश्यकताअनुसार कोषको रकम प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ।”
यस निर्णयले युद्ध प्रभावित क्षेत्रहरूमा रहेका नेपाली नागरिकलाई तत्काल राहत पुर्याउने र संघको सक्रियतामा विश्वास थप्ने विश्वास व्यक्त गरिएको छ।