काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले खाडी क्षेत्रमा बढ्दो तनावले भविष्यमा गम्भीर भूराजनीतिक संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै महासचिव पोखरेलले त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरू युद्धका कारण त्रसित बनेको उल्लेख गरेका छन्।
पोखरेलले खाडी क्षेत्रको अस्थिरता नेपालको अर्थतन्त्र र जनजीवनमा प्रतिकूल असर पार्ने संकेत गरेका छन्। विशेषगरी पेट्रोलियम पदार्थ र ग्यासको सम्भावित अभाव, बढ्दो महँगी, बजार प्रणालीमा असर र आम नागरिकको दैनिकी कठिन हुने सम्भावनामा उनले ध्यानाकर्षण गराएका छन्।
यस संवेदनशील परिस्थितिमा नेपाली समाजले धैर्यता र संयम कायम राख्नुपर्नेमा महासचिवले जोड दिएका छन्। उनले आगामी सरकारले सम्भावित असरलाई कम गर्न अहिल्यैदेखि ठोस योजना र पूर्वतयारी थाल्नुपर्ने पनि बताए।
पोखरेलले चेतावनी दिंदै भनेका छन्, “यदि यो संकटलाई समयमै सम्बोधन नगरियो भने यसले बहुआयामिक रूप लिनेछ। यो संकट केवल आर्थिक वा मानवीय सीमामा मात्र रहने छैन, यसले भविष्यमा भूराजनीतिक तनाव समेत निम्त्याउन सक्छ। त्यसैले हामी सबै गम्भीर र सजग बन्नु अनिवार्य छ।”
उनको विश्लेषणअनुसार खाडी क्षेत्रको वर्तमान परिस्थितिले नेपालभित्र आर्थिक अस्थिरता र सामाजिक चुनौती बढाउने सम्भावना रहेको छ, र आवश्यक पूर्वतयारीका उपायहरू तुरुन्तै गर्नुपर्ने उनको आग्रह छ।