काठमाडौँ – बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दादुरा सङ्क्रमण देखिएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। ढोरपाटन नगरपालिका–७, ८ र ९ मा हालसम्म पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
सङ्क्रमण फैलिन थालेपछि उपचार व्यवस्थापनका लागि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए।
उनका अनुसार सङ्क्रमित बिरामीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। ढोरपाटन क्षेत्रमा दादुरा फैलिन थालेपछि स्थानीय बासिन्दामा चिन्ता र त्रास बढेको उनले बताए।
घिमिरेले शङ्कास्पद लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्दै सङ्क्रमण नियन्त्रणका लागि विशेष खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
हालसम्म पाँच जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने थप १४ जनाको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइएको छ। विशेषगरी १० देखि २० वर्ष उमेर समूहका व्यक्तिमा शङ्कास्पद लक्षण देखिएको उनले बताए।
उनले भने,
“शङ्कास्पद बिरामीको खोजी र उपचारलाई तीव्रता दिएका छौँ। बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा बिरामीहरूको उपचार भइरहेको छ। केही बिरामी उपचारपछि घर फर्किसकेका छन् भने केहीको उपचार जारी छ।”
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार यही फागुन ८ गते गाउँका केही स्थानमा सङ्क्रमणको लक्षण देखिएपछि स्वास्थ्यकर्मीहरू तत्काल गाउँमा पुगेर खोजतलास सुरु गरिएको थियो। त्यसपछि जोखिम पहिचान, स्वास्थ्य सचेतना, निगरानी र उपचारलाई तीव्रता दिइएको उनले बताए।
शर्माका अनुसार यस क्षेत्रमा रहेका ६ हजार ७६३ जनालाई दादुराविरुद्धको खोप लगाइने तयारी गरिएको छ। फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म ढोरपाटन क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिने पनि उनले जानकारी दिए।
सङ्क्रमण फैलिन थालेपछि सावधानीका रूपमा ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका विद्यालयहरू समेत अस्थायी रूपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ।