काठमाडौँ । नेपाली कांग्रेसले नेपाललाई विश्वकै उत्कृष्ट प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारस्तम्भ बनाउने घोषणा गरिएको हो ।
कांग्रेसले पर्यटन क्षेत्रको हिस्सा कूल गार्हस्थ्य उत्पादन (GDP) मा १५ देखि २० प्रतिशतसम्म पुर्याउने लक्ष्य राख्दै नेपालका विमानस्थललाई यात्रीमैत्री र सुविधासम्पन्न बनाउन आवश्यक स्रोत व्यवस्थापन गर्ने जनाएको छ ।
✈️ हवाई सेवा सस्तो र सुरक्षित बनाउने योजना
पार्टीका अनुसार विदेशी तथा आन्तरिक यात्रुका लागि हवाई भाडा सस्तो बनाउन विमानस्थल सञ्चालन, ‘ल्याण्डिङ–पार्किङ’ शुल्क र हवाई इन्धनमा लाग्ने अतिरिक्त शुल्क घटाइनेछ । ‘एयर ट्राफिक’ व्यवस्थापन चुस्त बनाइ आकाशमा हुने विमानको ‘होल्डिङ’ समय घटाउने तथा हवाई सुरक्षा सुदृढ गरिने उल्लेख छ ।
नेपाल वायुसेवा निगमलाई छ महिनाभित्र व्यवस्थापन सुदृढीकरण गरी ‘जनताको ध्वजाबाहक’ मा रूपान्तरण गर्ने लक्ष्यसमेत कांग्रेसले अघि सारेको छ । साथै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई स्वायत्त निकायमा विभाजन गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षासम्बन्धी ‘सेफ्टी लिस्ट’बाट हटाउन कूटनीतिक पहल गरिने प्रतिबद्धता समेत जनाइएको छ ।
🛫 क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न तथा विश्वका प्रमुख सहरबाट सीधा उडान जोड्न उच्चस्तरीय कूटनीतिक पहल गरिने प्रतिज्ञापत्रमा उल्लेख छ ।
🕉️ आध्यात्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन
कांग्रेसले ‘आरोग्य नेपाल’ को नारासहित शान्ति, ध्यान र आरोग्य पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेको छ ।
लुम्बिनी, जनकपुर, पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिरलाई हवाई तथा सडक सञ्जालले जोडेर एकीकृत पर्यटकीय सर्किट निर्माण गरिने योजना छ । ‘जनकपुर–लुम्बिनी–काठमाडौँ’ र ‘बुद्ध–टु–शिव’ जस्ता डिजिटल आध्यात्मिक कोरिडोर विकास गर्ने उल्लेख गरिएको छ ।
नेपाली उत्सव तथा जात्राको अन्तर्राष्ट्रिय क्यालेण्डर निर्माण गरी विश्वव्यापी बजारीकरण गरिने, कलाकार तथा शिल्पकारका लागि राष्ट्रिय कला कोष स्थापना गरिने र युनेस्को सम्पदा क्षेत्रमा परम्परागत कला झल्किने ‘इन्टरप्रिटेटिभ भिलेज’ निर्माण गरिने प्रतिज्ञा गरिएको छ ।
🏔️ सफा हिमाल र दिगो पर्यटन
कांग्रेसले ‘सफा हिमाल, सुरक्षित आरोहण’ अभियानमार्फत हिमाल सफाइ, पदमार्ग स्तरोन्नति, सुरक्षा मापदण्ड कडाइ र खोज तथा उद्धार प्रणाली प्रभावकारी बनाउने जनाएको छ ।
पर्वतारोहण ‘रोयल्टी’को ३० प्रतिशत रकम हिमताल संरक्षण र स्थानीय जलवायु अनुकूलनमा खर्च गर्ने, आरोहीका लागि व्यक्तिगत पूर्वानुमान सेवा उपलब्ध गराउने र पर्यावरणमैत्री रिसोर्ट स्थापना गर्न सहुलियतपूर्ण ऋण तथा विद्युत् महसुल छुट दिने योजना छ ।
👩💼 महिला–युवा उद्यमीलाई प्राथमिकता
पर्यटन क्षेत्रमा आबद्ध महिला तथा युवा उद्यमीलाई विशेष कर छुट, सहुलियतपूर्ण कर्जा र सार्वजनिक–निजी–सामुदायिक साझेदारी (PPP) मोडेलमार्फत लगानी विस्तार गरिने उल्लेख छ । साथै पर्यटन क्षेत्रमा मर्यादित रोजगारी र समान ज्यालाको नीति सुनिश्चित गर्ने प्रतिबद्धता कांग्रेसले व्यक्त गरेको छ ।
कांग्रेसको यो योजना कार्यान्वयन भएमा पर्यटनलाई रोजगारी, उद्यमशीलता र स्थानीय समृद्धिको मुख्य आधारका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।