काठमाडौं । महोत्तरीको कञ्चनवनमा ऐतिहासिक मिथिला मध्यमा परिक्रमाको डोला आइपुगेको छ । फागुन शुक्ल प्रतिपदाबाट सुरु भएको १५ दिने धार्मिक पदयात्रा सप्तमी तिथिमा कञ्चनवन पुगेपछि यहाँ परम्परागत रूपमा होली महोत्सव सुरु भएको हो ।
भगवान राम (मिथिला विहारी) र माता सीता (किशोरीजी) का प्रतिमा राखिएका डोलाहरू हजारौं श्रद्धालु, साधुसन्त तथा महात्माहरूको लावालस्करसहित कञ्चनवन आइपुगेका हुन् । डोलाको आगमनसँगै धार्मिक वातावरण उल्लासमय बनेको छ ।
जनविश्वासअनुसार त्रेता युगमा भगवान राम र सीताले यही कञ्चनवनमा रङ–अबिर दलेर होली खेलेका थिए । सोही सम्झनामा डोला यहाँ पुगेपछि परिक्रमा सहभागीहरूले एकअर्कालाई रङ–अबिर लगाएर होली खेल्ने परम्परा रहँदै आएको छ ।
यस वर्ष पनि डोला बिसाइएपछि भक्तजनहरूले दर्शन, पूजाआराधना तथा अबिर चढाएका छन् । संस्कृतिविदहरूका अनुसार कञ्चनवनको यो होली मिथिलाञ्चल क्षेत्रकै सबैभन्दा पुरानो तथा विशेष धार्मिक–सांस्कृतिक उत्सवमध्ये एक मानिन्छ ।
यहाँ विभिन्न मठमन्दिरका महन्थहरू, सामाजिक अगुवा, सांस्कृतिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहने गर्दछ । स्थानीय प्रशासनले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ भने व्यापार–व्यवसायसमेत चलायमान बनेको छ ।
परिक्रमा यात्रा धनुषाको हनुमानगढी बाट सुरु भएर भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्ड पुगेपछि कञ्चनवन आइपुगेको हो ।
कञ्चनवनमा होली उत्सव सम्पन्न भएपछि यात्रा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः जनकपुरधाम फर्केर फागुन पूर्णिमाका दिन विधिवत् समापन हुने कार्यक्रम रहेको छ ।
मिथिला मध्यमा परिक्रमा धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा प्रत्येक वर्ष धूमधामका साथ मनाइँदै आएको छ ।