मुस्ताङ । चिसो क्रमशः घटेसँगै मुक्तिनाथ मन्दिर मा दर्शनार्थीको घुइँचो बढ्न थालेको छ । हिउँदयामको कठ्याङ्ग्रिने चिसोका कारण पुस–माघ महिनामा घटेको धार्मिक पर्यटकको सङ्ख्या फागुन लागेसँगै पुनः उकालो लाग्न थालेको हो ।
मुक्तिनाथ विकास समिति का व्यवस्थापक दिनेश भुसालका अनुसार फागुन सुरु भएसँगै दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा दर्शनार्थी तथा धार्मिक पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । “पुस र माघमा चिसो अत्यधिक हुँदा आंशिक रूपमा मात्र धार्मिक पर्यटक आउने गरेका थिए, अहिले तापक्रम केही अनुकूल बन्दै गएकाले आगमन बढेको छ,” उनले भने ।
गर्मीयामसँगै अझै वृद्धि हुने अपेक्षा
मुस्ताङमा हिउँदयाम सकिएर गर्मीयाम सुरु हुन थालेपछि दर्शनार्थीको सङ्ख्या अझै वृद्धि हुने अपेक्षा गरिएको छ । समितिका अनुसार भक्तजनको व्यवस्थापन, सरसफाइ, खानपान तथा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको छ । दर्शनलाई सहज बनाउन लाइन व्यवस्थापन, भीड नियन्त्रण र सूचना प्रवाहमा ध्यान दिइएको बताइएको छ ।
लेक लाग्ने समस्या न्यूनीकरणका लागि अक्सिजनसहित स्वास्थ्यकर्मी र स्वास्थ्य क्लिनिकलाई सक्रिय राखिएको व्यवस्थापक भुसालले जानकारी दिए । १०८ धारा र कुण्डमा स्नान गर्ने भक्तजनका लागि आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
धार्मिक आस्था र विशेष महत्व
हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा परिचित मुक्तिनाथधामलाई भगवान् विष्णुको बासस्थान मानिन्छ । यहाँ दर्शन गर्नाले जानअञ्जानमा भएका पापबाट मुक्ति पाइने धार्मिक जनविश्वास रहिआएको छ । विशेषगरी १०८ धारामा स्नान गरी मन्दिर दर्शन गर्ने परम्परा प्रचलित छ ।
झापाबाट शैक्षिक भ्रमणमा आएकी एञ्जल अधिकारीले मुक्तिनाथ वरपरको सेताम्मे हिमशृङ्खलाले अत्यन्त आकर्षित गरेको बताइन् । क्याम्पसका ६२ जना विद्यार्थीसँगै मुक्तिनाथ दर्शन गर्न पाउँदा गौरव महसुस भएको उनको भनाइ छ । यस्तै, नवलपुरका सुनिल पाठकले १०८ धारामा स्नान गरी मन्दिर दर्शन गर्दा आत्मिक शान्ति मिल्ने विश्वास व्यक्त गरे ।
पूर्वाधार अभावको चुनौती
दर्शनार्थीको सङ्ख्या बढेसँगै पूर्वाधार अभावको समस्या पनि सतहमा देखिन थालेको छ । मन्दिरसम्म पुग्ने मुख्य प्रवेशद्वार ‘सिङ्गल लेन’को भएकाले भीडभाडमा पैदल यात्रा गर्न समस्या हुने गरेको समितिले जनाएको छ । साथै पर्याप्त शौचालय र चेञ्जिङरुम (कपडा परिवर्तन गर्ने कोठा) नहुँदा भक्तजन असहज हुने गरेका छन् ।
समितिले भक्तजनमैत्री पूर्वाधार निर्माणका लागि आठ वटा योजना अघि बढाउन पुरातत्व विभाग मा प्रस्ताव पठाइसकेको जनाएको छ । तर स्वीकृति प्रक्रिया ढिलो हुँदा निर्माण कार्य अघि बढ्न सकेको छैन ।
सडक पहुँच र पर्यटक वृद्धि
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग सहज भइसकेकाले पनि मुस्ताङ तथा मुक्तिनाथ दर्शन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । भारतीय पर्यटकको बाक्लो उपस्थिति रहँदै आएको समितिले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २२ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । आव २०८०/८१ मा चार लाख ५४ हजार ३२६ जना र गत आवमा सात लाख पाँच हजार ७७९ जना पर्यटक यहाँ आएका थिए ।
मुक्तिनाथमा विशेषगरी चैते दसैँ, औँसी तथा बडादसैँ अघिका सोह्र श्राद्ध अवधिमा धार्मिक पर्यटकको अत्यधिक आगमन हुने गरेको समितिले जनाएको छ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सहज यातायात पहुँचका कारण मुक्तिनाथ पुनः पर्यटकको रोजाइमा पर्न थालेको देखिन्छ ।