काठमाडौँ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका सात जना कैदीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। फरार कैदीहरूको खोजतलासका लागि लामो समयदेखि प्रहरी परिचालन गरिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ का ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिका निवासी २३ वर्षीया बबिता तामाङ, काभ्रेपलान्चोक ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका–२ का २७ वर्षीय भुवन तामाङ, सिन्धुली फिक्कल गाउँपालिका–३ का २० वर्षीय अनिस मगर तथा भारत घर भएका २६ वर्षीय रोशन साह रहेका छन्।
प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार काठमाडौंका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका उनीहरू आन्दोलनका क्रममा फरार भएका थिए। फरार भएपछि विभिन्न प्रहरी इकाइ परिचालन गरी देशका विभिन्न स्थानमा खोजी तीव्र बनाइएको थियो। सोही क्रममा उनीहरूलाई पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा पुनः दाखिला गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये तेन्जिङबहादुर तामाङ डाँका चोरी, प्रितम गुरुङ चोरी, बबिता तामाङ मानव बेचबिखन तथा ओसारपसार, विक्रम नेपाली नकवजनी चोरी, भुवन तामाङ लागुऔषध, अनिस मगर ज्यान मार्ने उद्योग तथा रोशन साह लागुऔषधसम्बन्धी कसुरमा कैद सजाय भुक्तान गरिरहेका थिए।
प्रहरीले फरार कैदीहरू पक्राउसँगै कारागार सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने तयारी भइरहेको जनाएको छ। साथै यस्ता घटनाबाट सुरक्षा व्यवस्थामा देखिएका कमजोरीको समीक्षा गर्दै आगामी दिनमा थप सावधानी अपनाइने बताइएको छ।
प्रहरीका अनुसार कानून कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार अपराधीहरूको खोजीलाई निरन्तर प्राथमिकता दिइनेछ। साथै शान्ति सुरक्षा कायम राख्न नागरिकको सहयोग आवश्यक रहने भन्दै कुनै शंकास्पद गतिविधि देखिए प्रहरीलाई जानकारी दिन पनि आग्रह गरिएको छ।