झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी बाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा सुजय राजवंशी लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्का का अनुसार पक्राउ परेका राजवंशी कनकाई नगरपालिका–८ का २२ वर्षीय युवक हुन्। उनीमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय तुलबहादुर थापा मगर को घरमा अवैध हातहतियार र लागूऔषध लुकाइ–छिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा आइतबार छापा मारिएको थियो। छापाका क्रममा उनका छोरा सौगात थापा मगर ले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएर राखेको ९ एमएम पेस्तोल र ४० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको पेस्तोल जेनजी आन्दोलनताका प्रहरी कार्यालयबाट लुटिएको हतियार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। यद्यपि घटनामा संलग्न मुख्य अभियुक्त मानिएका सौगात थापा मगर भने फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय अवैध हातहतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाइएको छ। यस्तो गतिविधिले सार्वजनिक सुरक्षामा जोखिम बढाउने भएकाले विशेष सूचना संकलन, निगरानी र कारबाहीलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
यस घटनाले आन्दोलनका क्रममा लुटिएका हतियारको अवस्था र सुरक्षा व्यवस्थाप्रति पुनः चासो बढाएको छ। प्रहरीले बरामद हतियारसँग सम्बन्धित अन्य व्यक्तिको संलग्नता पनि हुनसक्ने आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई अवैध हातहतियार वा शंकास्पद गतिविधिबारे सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै समाजमा शान्ति–सुरक्षा कायम राख्न सबैको सहयोग आवश्यक रहेको बताएको छ।