काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले आगामी निर्वाचनमा सुशासनलाई पहिलो प्राथमिकता बनाउने घोषणा गरेका छन्।
उनले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, पारदर्शी बजेट कार्यान्वयन र जवाफदेहिता सुनिश्चित नगरी विकास सम्भव नहुने बताएका छन्। उनले काठमाडौँ–४ को विकास राजनीतिक अस्थिरता र अवरोधका कारण प्रभावित भएको आरोप लगाउँदै भने,
“सुशासन बिना विकास सम्भव छैन। काम सुरु हुन्छ तर पूरा हुँदैन। यसको मूल कारण राजनीतिक अस्थिरता र अवरोध हो।”
डा. भट्टराईले आफ्नो क्षेत्रका सडक, ढल, खानेपानी र सहरी व्यवस्थापनका अधुरा योजनाहरूलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा सुरु गरिएका आयोजनाहरू निरन्तरता नपाउँदा क्षेत्र पछि परेको दाबी पनि गरे।
विपक्षी दललाई लक्षित गर्दै उनले थपे,
“विकासभन्दा अवरोध र आलोचनामा सीमित राजनीति नगर्नुहोस्। जनताले नारा होइन, परिणाम चाहन्छन्।”
उनले आगामी निर्वाचनलाई विकास र स्थायित्व रोज्ने अवसरको रूपमा प्रस्तुत गर्दै युवा रोजगारी, उद्यम प्रवर्द्धन र व्यवस्थित सहरीकरणका लागि दीर्घकालीन योजना ल्याउने घोषणा गरे।
डा. भट्टराईको यो तेस्रो पटकको उम्मेदवारी हो। यसअघि उनले २०७४ र २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेसका गगन कुमार थापासँग पराजित भएका थिए। यसपटक उनी नेपाली कांग्रेसका सचिन तिमिल्सेना, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायतसँग चुनावी प्रतिस्पर्धामा छन्।
यस चुनावलाई लिएर डा. भट्टराईले सुशासन र विकासका एजेन्डामा जोड दिएर मतदातालाई आफ्नो पक्षमा ल्याउने रणनीति अघि सारेका छन्।